ग्राउण्ड ह्याण्डलिङमा नेवानिको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

ग्राउण्ड ह्याण्डलिङमा नेवानिको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

केन्द्रबिन्दु
0
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् । 

सञ्चारकर्मीसँग महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका हुन् । उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताए । 

महानिर्देशक अधिकारीले कुनैपनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरे । उनले वायुुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गरे । 

उनले भने, ‘प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ दिँदा निजी एयरलाइन्सलाई दियो भनेर समाचारहरु आए । मिडियाको प्रेसरबाट प्राधिकरण हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ गर्न दिने विषयमा पछाडी हट्यो । तर, विषय त्यस्तो थिएन । नेपालको कानूनले के भन्छ भने कुनैपनि वायुसेवा कम्पनी जसले ३५ वटा उडान एक हप्तामा गर्छ । उसले चाहेको अवस्थामा सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा गर्छ भन्दा प्राधिकरण अनुमति दिनुपर्छ । कानूनले प्रष्ट भनेको छ । म तेस्तो परिकल्पना गर्दिन । त्यस्तो नहोस् । जुन अहिले नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ सेवा उपलब्ध गराइरहेको छ । यो धेरै महँगो छ । यसको स्तरियतामाथि पनि प्रश्न चिन्ह छ । कुनै समयमा दुर्घटना,बन्द हड्ताल भएर बन्द भयो भने नेपालका सबै विमानस्थल बन्द हुन्छन् । यो सोचिएको छ । कुनै योजना छ । यो अवस्थामा हामीले विमानस्थल चलाएका छौं । विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा स्तरिय,भरपर्दो र अन्तर्राष्ट्रिय बजार भन्दा सुलभ हुनुप¥यो । नेपाली जहाज दिल्लीमा जाँदा १२ सय डलर तिर्छ । दिल्लीको जहाज नेपालमा आउँदा २३ सय डलर तिर्छ । त्यस कारण अब प्राधिकरणले सोच्नुपर्ने बेला आएको छ । उडान भर्नुपर्ने संस्थाले उडान पनि ध्यान दिनुप¥यो । व्यापार भनेको हवाई उडान हो । कानूनले सम्मान व्यवहार गर्नुपर्छ । त्यो विषयमा उपयुक्त निर्णय हुन्छ । कानूनको सम्मान कार्यान्वयन र ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था हुनुपर्छ । ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था सहितको हवाई उडान गर्ने विषयमा क्यान सचेत छ । उपयुक्त समयमा निर्णय हुन्छ ।’
 
महानिर्देशक अधिकारीले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडी हटेको बताए । उनले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानूनी रुपमा प्राधिकरणले अनुमति दिनुपर्ने बताए । 

अधिकारीको भनाइअनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ । अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले शुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।

Logo