मनसुनको दुई महिना : विपदमा परी २३१ जनाको मृत्यु, ७७ बेपत्ता

मनसुनको दुई महिना : विपदमा परी २३१ जनाको मृत्यु, ७७ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपदबाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो पहिरो खस्दा सयौँ नागरिकले अकालमै ज्यान गुमाए ।

नेपालमा जेठ ३१ गतेदेखि मनसुन शुरु भएको थियो । साउन ३१ सम्मको दुई महिनामा मात्रै ठूलो मानवीय क्षति हुन पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले क्षति पुर्याएको छ । प्राधिकरणका प्रमुख अनिल पोखरेलले साउन ३१ सम्म मनसुन सक्रिय भएपछिको दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २३१ को मृत्यु, ७७ बेपत्ता र २०८ जना घाइते भएको जानकारी दिए ।

उक्त अवधिमा पहिरोमा परेर मात्रै २०६ को मृत्यु, ६६ बेपत्ता र १६१ घाइते भए । बाढीमा परेर चार जनाको मृत्यु, ११ बेपत्ता र एक जना घाइते छन् । चट्याङबाट २१ को मृत्यु र ४६ जना घाइते भएका छन् ।

यस पटक प्रिमनसुनमै बढी वर्षा भएको थियो । त्यसपछि मनसुनको शुरुआती समयमै धेरै पानी पर्दा जमीन गलेकाले पनि हल्का वर्षा हुँदा नै पहिरोका घटना बढी भए । विपदमैत्री विकास हुन नसक्नु अर्को कारण रह्यो भने भूकम्प लगायत कारणले पनि बढी पहिरो खसेको छ । एकै स्थानमा बढी वर्षा हुँदा भेलपहिरोको जोखिम हुन्छ ।

यस पालि मुलुकका ६० भन्दा बढी जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित भएका छन् । यद्यपि एक दर्जनभन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति हुने गरी पहिरो खसेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले बेहोर्नु परेको छ । गत असार २५ मा भारी वर्षापछि आएको बाढी र भेल पहिरोले बाह्रबीसेको जम्बुबजार र भोटेकोशीमा तीन जनाको मृत्यु भयो भने २० जना बेपत्ता भएका थिए । त्यसको एक महिना पाँच दिनपछि साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा पहिरो खस्दा १८ जनाको अकालमा मृत्यु भएको छ भने अन्य २१ जना अझै बेपत्ता छन् ।

दोस्रो ठूलो घटना असार २६ मा म्याग्दीमा भयो । भारी वर्षा हुँदा धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा खसेको पहिरोमा २७ जनाको मृत्यु भयो, अझै चार जना बेपत्ता छन् । मनसुन सक्रिय रहेकाले अझै प्राकृतिक विपद्को जोखिम कायम रहेको मौसमविद्को भनाइ छ ।

मनसुन शुरु भएको दिन जेठ ३१ गते पर्वतको दुर्लुङबाट विपद्को घटना शुरु भएको थियो । प्राप्त विवरण अनुसार सिन्धुपाल्चोक, म्याग्दी, जाजरकोट, कास्की, बझाङ, पर्वत, पाल्पा, लमजुङ, गुल्मीलगायत जिल्लामा ठूलो पहिराबाट जनधनको क्षति भएको छ ।

वैशाख यता २६६ को मृत्यु

गएको वैशाख यताको तथ्याङ्क हेर्दा सबैभन्दा बढी पहिरोबाट मानवीय क्षति भएको छ । त्यसपछि चट्याङबाट बढी मानवीय क्षति भयो । उक्त अवधिमा मनसुनजन्य विपदबाट २६६ को मृत्यु, ७८ बेपत्ता र ३३० जना घाइते भएका छन् ।

उक्त अवधिमा पहिरोमा मात्रै २०८ जनाले ज्यान गुमाए, ६६ जना बेपत्ता छन् । बाढीबाट सातको मृत्यु र १२ बेपत्ता छन् । चट्याङबाट ५१ को मृत्यु र १६५ घाइते छन् ।

अगष्टभरि बाढीपहिरोको जोखिम

जल तथा मौसम विज्ञान विभागले मनसुन कमजोर रहे पनि हल्कादेखि मध्यम वर्षा हुने भएकाले अगष्ट महिनाभरि नै जोखिम कायमै रहेको जनाएको छ । सेप्टेम्बर लागेपछि भने विस्तारै कम हुँदै जाने जनाइएको छ ।

यसपाली सेप्टेम्बर २३ मा मनसुन सकिन्छ । त्यस बेलासम्म कुनै न कुनै जोखिम रहने तर अगष्टपछि विस्तारै कम हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताइन् । आज मुलुकभर नै मौसम बदली छ ।

उनका अनुसार आज पश्चिम नेपालका कास्की, जुम्ला र सुर्खेतका केही भेगमा पानी परिरहेको छ । “मुलुकभर नै मौसम बदली छ, सातै प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना छ, राति र भोलि पनि त्यो क्रम जारी हुन्छ”, मौसमविद् कँडेलले भनिन् , “लगातारको झरी नपरे पनि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाले नै बाढी, पहिरोको जोखिम हुन्छ ।”

उनका अनुसार अहिले मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेको छ तर बङ्गालको खाडीमा एउटा न्यूनचापीय क्षेत्र बनेकाले त्यहाँबाट जल वाष्पयुक्त हावा नेपाल प्रवेश गरेको कँडेलले जानकारी दिइन् । उनका अनुसार सोमबार रातिदेखि भने अहिलेभन्दा वर्षा केही बढ्ने छ । लगातारको झरी भने हुने छैन ।रासस

Logo