फाइनान्स कम्पनीहरुले चालु अर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । देशभर सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीमध्ये ८ वटा फाइनान्सको नाफा घटेको छ । यस्तै, २ वटा फाइनान्स कम्पनी भने घाटामा गएका छन् । ४ वटा कम्पनीको नाफामा सुधार आएको छ ।
४ फाइनान्स कम्पनीको नाफा बढ्यो
नेपालभर सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीमध्ये ४ वटा फाइनान्सको नाफा बढेको छ । नाफा बढ्नेमा पोखरा, मञ्जु श्री, नेपाल र गोर्खाज फाइनान्स रहेका छन् ।
पोखरा फाइनान्सको नाफा २६१.६ प्रतिशतले बढेको छ । यस फाइनान्सले गत आर्थिक वर्षको यसै अवधिमा १२ लाख ९७ हजार नाफा कमाएकोमा यस वर्षभने २६१.६ प्रतिशतले बढाएर ४६ लाख ९०हजार पुर्याएको छ । यस्तै, गत वर्षको पहिलो त्रैमासमा २ करोड ८६ लाख ९३ हजार नाफा कमाएको मञ्जु श्री फाइनान्सले यस वर्ष १४७.९२ प्रतिशतले बढेर ७ करोड ११ लाख ३७ हजार नाफा पुर्याएको छ ।
यता नेपाल फाइनान्सको नाफा पनि १३२.०९ प्रतिशतले बढेर ८१ लाख ७९ हजारसम्म पुगेको छ । यस फाइनान्सको गत आवको यसै अवधिको नाफा ३५ लाख २४ हजार रहेको थियो । यस्तै, गोर्खाज फाइनान्सको पनि गत आवमा १ करोड ६५ लाख ७०हजार रहेको नाफा १०१.०५ प्रतिशतले बढेर ३ करोड ३३ लाख १४ हजार पुगेको छ ।
८ फाइनान्सको नाफामा गिरावट
८ वटा फाइनान्सको नाफा प्रभावित भएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा ८ वटा फाइनान्सको नाफा घटेको हो । नाफा घट्नेमा बेस्ट, श्री इन्भेष्टमेन्ट, गुहेश्वरी मर्चेन्ट बैंकिङ, प्रोग्रेसिभ, गुडविल, सेन्ट्रल, आइसीएफसी र जानकी फाइनान्स रहेका छन् ।
बेस्ट फाइनान्सको नाफा ९५.१ प्रतिशतले घटेको छ । गत आवको पहिलो तीन महिनामा १२ करोड ११ लाख १६ हजार कमाएको थियो । चालु आवको यस अवधिमा ५९ लाख ३३ हजार नाफा कमाएको छ ।यस फाइनान्सको नाफामा ९५.१ प्रतिशतले गिरावट आएको हो । श्री इन्भेष्टमेन्ट फाइनान्सले पनि गत आव २ करोड ७८ लाख ४ हजार नाफा कमाएको थियो । यस अवधिसम्म आइपुग्दा यसको नाफा ८९.६७ प्रतिशतले घटेर २८ लाख ७२ हजारमा झरेको छ ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाफा ८५.५७प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा १ करोड ५७ लाख ४६ हजार नाफा कमाएको थियो । यस अवधिमा ८५.५७ प्रतिशतले घटेर २२ लाख ७२ हजारमा झरेको छ ।
यस्तै, प्रोग्रेसिभ फाइनान्सले गत आवमा ३ करोड ३६ लाख ७४ हजार नाफा कमाएको थियो भने चालु आवको यस अवधिमा ३१.९ प्रतिशतले घटेर २ करोड २९ लाख ३१ हजार पुगेको छ । गुडविल फाइनान्सको नाफा ४६.३ प्रतिशतले घटेको छ ।यस अवधिसम्म आइपुग्दा यसको नाफा ४६.३ प्रतिशतले घटेर ३ करोड ८४ लाख २३ हजारमा झरेको छ । यसको नाफा गत आवको पहिलो त्रैमासमा ७ करोड ११ लाख ८८ हजार थियो ।
सेन्ट्रल फाइनान्सले गत आवको पहिलो त्रैमासमा १ करोड ३६ लाख ४८ हजार नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा ३१.३७ प्रतिशतले गिरावट आएको छ । यस फाइनान्सको नाफा ३१.३७ प्रतिशतले गिरावटआउदा ९३ लाख ६६ हजार पुगेको छ ।
आइसीएफसी फाइनान्सले गत आवको प्रथम त्रैमासमा ४ करोड ७६ लाख ५२ हजार नाफा कमाएको थियो । चालु आवको यस अवधिमा आइपुग्दा यस फाइनान्सको नाफा २९.७९ प्रतिशतले घटेर ३ करोड ३४ लाख ५८ हजारमा झरेको छ ।
जानकी फाइनान्सको नाफामा पनि भारी गिरावट आएको छ । यसको नाफा ९१.३४ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा २ करोड ७९ लाख ४५ हजार नाफा कमाएको थियो । चालु आवको यस अवधिमा आइपुग्दा यसको नाफा २४ लाख १९ हजारमा झरेको छ ।
२ वटा फाइनान्स नोक्सानीमा
सञ्चालनमा रहेका १५ वटा फाइनान्समध्ये २ वटा फाइनान्स घाटामा छन् । समृद्धि फाइनान्स र रिलायन्स फाइनान्स नोक्सानीमा रहेका हुन् । समृद्धिले चालु आवको पहिलो त्रैमासमा ३ करोड १४ लाख ६३ हजार नोक्सानी व्यहोरेको छ । गत आवको यसै अवधिमा २६ लाख ५२ हजार नाफा कमाएको थियो । यस्तै, रिलायन्स फाइनान्सले पनि चालु आवको पहिलो त्रैमासमा ४ करोड २५ लाख ८३ हजार नाक्सानी व्याहोरेका छ । गत आवको यसै अवधिमा २ करोड १९ लाख २४ हजार नाफा कमाएको थियो ।
मल्टीपर्पस फाइनान्सको नाफा धनात्मक
मल्टीपर्पस फाइनान्सको नाफा सकारात्मक भएको छ । गत आवको पहिलो त्रैमासको अवधिमा मल्टीपर्पस फाइनान्स ऋणात्मक थियो । उक्त अवधिमा १ लाख ५२ हजार ऋणात्मक थियो । चालु आवको पहिलो त्रैमासमा भने यस फाइनान्सले ४ लाख १८ हजार नाफा आर्जन गरेको छ । सबै भन्दा धेरै नाफा भने मञ्जु श्री फाइनान्सले कमाएको छ ।































प्रतिक्रिया