५५ करोड लगानीको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा

५५ करोड लगानीको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा


मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपैयाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । 

गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रवारबाट सञ्चालनमा आएको हो । मुक्तिनाथ क्षेत्रमा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई खानबस्नको लागि सहज बनाउन ५५ करोडको लागतमा सुविधासम्पन्न बुटिक रिसोर्ट सञ्चालन भएको हो । 

मुक्तिनाथ क्षेत्रमा सुविधासम्पन्न पर्यटन पूर्वाधार होटल निर्माणले मुक्तिनाथ क्षेत्रमा धार्मिक पर्यटकहरुको वृद्धि , मुक्तिनाथ क्षेत्रको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास लिएको होटल सञ्चालक लामाले बताए । होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्न थालेको बताए । 

पर्यटकको चाप बढेपनि स्तरीय र सुविधासम्पन्न होटल संरचनाको अभाव रहेकाले आफूले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल बनाएको बताए । उनले मुक्तिनाथ क्षेत्रमा जाने आन्तरिक पर्यटकलाई लोभ्याउने मुक्तिनाथ बनाउनको लागि यस किसिमका सुविधासम्पन्न संरचनाको आवश्यक्ता पर्ने बताए । 

सञ्चालक लामाले धेरै पर्यटक भित्र्याउनसके स्थानीयको जीवनस्तरमा पनि सुधार ल्याउन सकिने बताए । बुटिक अवधारणामा करिव १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । होटलमा २० कोठा र एक हल र अन्य आठको कोठा निर्माण कार्य पनि भइरहेको छ । होटल उच्च हिमाली क्षेत्रमा रहेकाले चिसोबाट बच्न सोना तथा स्पाकोसमेत सुविधा रहेको उनी बताउँछन् । 

होटल सञ्चालन आएको ३५ वर्षपछि होटल मुक्तिनाथका जनतालाई हस्तान्तरण गर्ने लामाको भनाई छ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । 

हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा बढी हिन्दुधर्मालम्वीहरु दर्शन गर्नको लागि पुग्ने भएकाले होटलमा हिन्दुहरुको लागि साकाहारी रेष्टुरेण्ट सञ्चालनमा ल्याउने होटलको तयारी रहेको छ । उनले रिसोर्टमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुनेगरी पार्क तथा अन्य संरचनासमेत उपलब्ध हुने बताए । 

अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छन् । गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा पुगेर ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गरेकी थिइन् । 

Logo