काठमाडौं । नेपालमा पर्यटकीय गन्तव्यहरु सुरक्षित छन भन्ने सन्देश दिन सके पर्यटन क्षेत्रको पुर्नउत्थान हुने नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताएका छन् । शुक्रबार न्यूज ऐजेन्सी नेपालसँग कुराकानी गर्दै सिइयो जोशीले त्यस्तो बताएका हुन् । कोभिड–१९ को असरले अहिले पर्यटन क्षेत्र पूर्ण रुपमा बन्द छ । त्यसैले लकडाउन पछि पर्यटन क्षेत्रलाई खोलिएको अवस्थामा नेपाल घुम्न सुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पु¥याउनुपर्ने जोशीको भनाइ छ ।
सिइओ जोशीले नेपालभित्रका पर्यटन क्षेत्र घुम्न सुरक्षित छन् भन्ने सन्देश सरकार, निजी क्षेत्र र सरोकारवाला सबैले दिनुपर्ने बताए । त्यस्तै कोभिडको असरपछि पनि नेपालको पर्यटन महंगो छैन भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा उनको जोड छ ।
उनले भने–‘कोरोनाको महामारीपछि आफू जाने गन्तव्य कति सुरक्षित छ भनेर पर्यटकले हेर्छन । त्यसका लागि सबै क्षेत्र सुरक्षित भएको महसुस गराउन सक्नुपर्छ । साथै हाम्रो मुलुक कोरोना कहरका बीचमा पनि त्यति महँगो छैन भन्ने स्पष्ट पार्न सक्नुपर्छ ।’
आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न सके पर्यटन क्षेत्र चलायमान हुने र यसले नेपाल खुल्ला छ भन्ने सन्देश बाह्य बजारमा पु¥याउने उनको धारणा छ । त्यसका लागि पर्यटन विभाग, पर्यटन बोर्ड तथा मन्त्रालयबाट अनुमति दिएर आन्तरिक पर्यटनलाई चलायमान बनाउनुपर्छ । ‘हाम्रोमा अहिले २ हजार मिटरभन्दा माथिको अल्टिच्युटमा यो केस अलमोस्ट मिल्छ । जस्तो अन्नपुर्ण क्षेत्रमा सेप्टेम्बर अक्टुबरबाट हाई ट्रेकिङ सिजन हो’–जोशीले भने–‘बाहिरको हुँदैन भने नेपालीहरुलाई पनि ग्रीन जोनहरु बनाएर जाने वातावरण बनाउनुपर्छ । त्यसो भयो भने केही न केही चलायमान हुन्छ । यसले आन्तरिक पर्यटन खुल्दा वित्तिकै नेपाल तयार छ भन्ने सन्देश पनि दिन्छ ।’
नेपालमा अहिले पनि विदेशबाट आउने कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने नीति छ । तर यस्तो प्रावधानले पर्यटकहरु आउन नचाहने भएकाले पर्यटनको विकल्पको रुपमा क्वारेन्टाइनलाई छोडेर पीसीआर बनाउनुपर्ने जोशीको तर्क छ । पर्यटकलाई आफ्नै देशमा पीसीआर परीक्षण गरेर आउनुपर्ने, नेपाल आएपछि पुनः पीसीआर परीक्षण गर्ने र सात दिनभन्दा बढी बस्ने पर्यटकलाई घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले मिलाउनुपर्नेमा जोशीको जोड छ ।
त्यस्तै बाह्य पर्यटन प्रवद्र्धनका लागि भिषा निःशुल्क बनाउनुपर्ने उनले बताए । भिषा शुल्क नलिने र पीसीआर परीक्षणलाई अनिवार्य बनाउने हो भने पर्यटन आउने वातावरण बन्ने जोशीको दाबी छ । ‘हामीले भिषा शुल्क लिइराखेका छौं । कतिपय ठाउँका अरु शुल्कहरु प्नि लिइराखेका छौं । ती शुल्क नलिएर परीक्षण शुल्क लिए हुन्छ । ३० देखि ५० डलरमा परीक्षण भइहाल्छ’–उनले भने–‘भिषा निःशुल्क गरेका छौँ भन्ने हुन्छ ।’
विश्वमा गरिएका धेरैजसो सर्भेले लकडाउन खुल्ने वित्तिकै ३२ प्रतिशत मानिसहरु घुम्न निस्किन्छन भन्ने तथ्याङकले देखाएकाले नेपालले सोही संख्यालाई लाक्षित गरी तयारी सुरु गर्नुपर्नेमा उनको जोड छ ।उनले भने–‘धेरैजसो सर्भेले लकडाउन हट्ने वित्तिकै ३२ प्रतिशत मानिस घुम्न निस्किन्छन भन्ने छ । त्यो ३२ प्रतिशत भनेको करिब करिब डेढ अर्ब मानिस २०१९ मा घुमेको हो । डेढ अर्ब हुनु भनेको अहिले पनि ४०÷५० करोड मान्छेहरु घुम्छन भनेको हो । त्यही घुम्ने ४०/५० करोडलाई हामी कसरी ल्याउन सक्छौं । भनेर हाम्रो रणनीतिहरु बन्नु प¥यो ।’आन्तरिक पर्यटनका लागि पनि प्रभावकारी रणनीति आवस्यक रहेको उनको भनाइ छ । आफू पनि डराउने र अरुलाई पनि तर्साउने काम गर्दा पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएकाले निजी क्षेत्रले सिमित स्रोतबाट अधिकतम काम गर्न सक्नुपर्नेमा जोशीको जोड छ ।
त्यस्तैगरी उनले नेपालको पर्यटन छवि विश्वभर अत्यन्तै राम्रो भएको र कोरोनाको असरबाट पुर्नउत्थान हुने मुलुकमा नेपाल पनि पर्ने भएकाले अहिलेदेखि नै तयारी गर्नुपर्ने बताए । उनले भने–‘नेपालको पर्यटन इमेज राम्रो छ । कोरोनाको असरपछि रिभाइभ हुने धेरै कम मुलुकमा नेपाल पर्नेछ । किन भने आइसोलेसनमा हुने क्रियाकलाप, प्रकृतिमा आधारित क्रियाकलाप, हिलिङ टाइपको गन्तव्य र स्पीच्युअल गन्तव्य हेरिराखेको भएर यो सबै स्टे«न्थ भएको देश नेपाल हो ।’
पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि सरकारले छुट्याएको ५० अर्बको पुर्नउत्थान कोषको परिचालन तत्काल गर्नुपर्नेमा जोशीले जोड दिए । आवस्यक परेको बेलामा कोषलाई परिचालन गर्न नसके पछि परिचालन गरेर कुनै अर्थ नहुने उनको भनाइ छ । त्यसैले कोषलाई तत्काल परिचालन गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । ‘५० अर्ब बजेट छुट्याएको छ पुर्नउत्थानका लागि भनेर त्यो छिटोभन्दा छिटो कार्यविधि बनाएर परिचालन गर्नुप¥यो । ६/७ महिनापछि परिचालन गर्दा कुनै असर हुँदैन । किनभने व्यवसाय, व्यवसायी र कामदारलाई अहिले मर्का परिराखेको छ । त्यसकारण १५/२० दिनभित्रै यो परिचालन गर्नुपर्छ । ’
पछिल्लो समय नेपालमा समाजिक, राजनीतिक एजेण्डाभन्दा पनि विकासका एजेण्डाले प्राथमिकता पाएको र लगानीकर्ताले पर्यटनमा लगानी गरेकाले त्यसको संरक्षणका लागि पनि काम गर्नुपर्ने उनले बताए । देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण भएकाले प्रभावाकारी काम गर्नुपर्नेमा जोशीले जोड दिए ।































प्रतिक्रिया