काठमाडौं ।
नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न कागजी नोटको कारोबारलाई घटाउँदै जाने योजना बनाएको थियो । तर राष्ट्र बैंकले जुन रुपमा योजना बनाएको थियो सोही अनुपातमा कागजी नोटको कारोबार भने घट्न सकेको छैन ।
राष्ट्र बैंकले नयाँ नोट निरन्तर प्रक्रिया अन्तर्गत निष्काशन गर्ने गर्छ । नयाँ नोटको प्रयोगलाई विस्तारै घटाउने योजना अनुसार घटाउन सुरु गरिएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए । नेपालमा लामो समयदेखि नोटको प्रयोग भइरहेको छ । त्यसकारण तत्काल पूर्णरुपमा घटाउन सकिने अवस्था नभएको कार्यकारी निर्देशक नेपालले बताए । ‘तत्काल पूर्णरुपमा कागजी नोट विस्थापन गर्न कठिन छ ।’ उनले भने । त्यसकारण राष्ट्र बैंक विस्तारै डिजिटल बैंकिङमा फोकस गर्ने तथा कागजी नोटको प्रयोग घटाउँदै लैजाने योजनामा रहेको कार्यकारी निर्देशक नेपालको भनाइ छ । राष्ट्र बैंकले हरेक दशैंमा ६०/७० अर्बको हाराहारीमा नयाँ नोट बजारमा पठाउने गर्छ । यसपाली दशैंमा ५० अर्बको हाराहारीमा नयाँ नोट बजारमा जाँदैछ । अहिले बजारमा ५ खर्ब ९० अर्ब रुपैँयाँ कागजी नोट चलन चल्तीमा छन् ।
राष्ट्र बैंकले १ हजार दरका नयाँ नोट यही साउन ७ मा तथा ५ सय दरका नयाँ नोट असार २२ मा बजारमा ल्याएको थियो । दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले ५ र १० रूपैयाँका नयाँ नोट दशैं अगाडि नै निष्काशन गर्ने योजना बनाएको छ । यस वर्ष विजया दशमी कात्तिक १० गते परेको छ । ‘दशैं अघि नै नयाँ नोट ल्याउने तयारी भइरहेको छ ।’ कार्यकारी निर्देशक नेपालले भने । ५ र १० रुपैयाँको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको राष्ट्र बैंकले १ सय दरका नयाँ नोट पनि चिनियाँ कम्पनीले नै छाप्ने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार ५ रुपैयाँ दरको ३० करोड थान र १० रुपैयाँको दरका ३४ करोड थान नोट दशैं अघि नै ल्याइँदैछ । दशैंमा सबैभन्दा बढी ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रयोग हुने गर्छन् । यी सबै दरका मिलाएर ५० अर्ब बराबरका नयाँ नोट ल्याइन लागेको राष्ट्र बैंकले जनाएको छ । नयाँ आउन लागेका ५ र १० रुपैँयाँ दरका नोटमा नयाँ गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । राष्ट्र बैंकले प्रत्येक वर्षको दशैंमा प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका एक–एक बन्डल नयाँ नोट वितरण गर्दै आएको छ ।
अघिल्लो वर्ष राष्ट्र बैंकले नेपाल बैंकको न्यूरोड, किर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा दिएको थियो भने राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका उपत्यकाभित्र रहेका विभिन्न शाखाहरुबाट नयाँ नोट सटहीको व्यवस्था मिलाएको थियो । उपत्यका बाहिर राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढीमा समेत नयाँ नोट साट्न सकिनेछ । राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंको बेला नयाँ नोट सटही गर्ने गरेको छ ।
यसरी छापिन्छ नयाँ नोट
राष्ट्र बैंकले नोट छाप्ने प्रक्रिया अबलम्बन गर्ने गर्छ । नयाँ नोट बजारको माग अनुसार छाप्ने गरिन्छ । नयाँ नोट छाप्दा ठूलो धनराशीको आवश्यकता पर्छ । त्यसकारण नयाँ नोट छाप्दा सुन तथा नगदमै पनि रकम बुझाएको हुन्छ । नेपालले अधिकांश चीनबाट नयाँ नोट छापिरहेको हुन्छ । विश्व बजारमा नोट छाप्ने प्रतिष्ठित कम्पनीहरु छन् । तीनै कम्पनीहरु मध्ये जुन चाँही आफूलाई उपयुक्त लाग्छ त्यहि कम्पनी छानेर टेन्डर आह्वान गरी नोट छपाइका लागि जिम्मा दिइन्छ । त्यस्तै बजारमा बेला बेलामा प्रशस्त मात्रामा नक्कली नोट आउने भएकाले राष्ट्र बैंकले नोटको सुरक्षामा पनि विशेष ध्यान पु¥याएको हुन्छ । सुरक्षा चिन्न के के राख्ने भन्ने तय राष्ट्र बैंकले नै गर्छ ।
यसरी सुरक्षा गरौँ नयाँ नोट
राष्ट्र बैंकले नयाँ नोट प्रयोग गर्दा निकै सावधानीपूर्वक गर्न आग्रह गर्दै आएको छ । नयाँ नोट छपाई गर्दा ठूलो धन राशीको आश्यकता पर्ने भएकाले राष्ट्र बैंकले नयाँ नोट जतनपूर्वक चलाउन भनेको हो । राष्ट्र बैंकका अनसार नयाँ नोटमा केरमेट गर्नु हुँदैन । पूजाआजा गर्दा तथा हरेक दिन मन्दिरमा गरिने पूजामा कागजी नोटको प्रयोग नगर्ने, नोटमा रातो लगायतका विभिन्न रङहरुको प्रयोग नगर्ने, फोहोर तथा चिसो हातले नोट नछुने, नोटलाई कच्याककुचुक गरेर नराख्ने, पर्समा राख्दा पनि पट्याएर सिधा बनाएर राख्ने गर्नुपर्छ ।
यस्तो छ नयाँ नोट सम्बन्धी कानुनी व्यवस्था
छिटो पुरानो नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले नयाँ नोटलाई कुनै पनि प्रकारले फोहोर गर्न प्रतिबन्ध लगाएको छ । नयाँ नोटमा केरमेट गर्ने, फोहोर गर्ने तथा काम नलाग्ने गरी जथाभावी प्रयोग गर्ने काम गर्नु दण्डनीय भएको राष्ट्र बैंकले जनाएको छ । यस्तो काम गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारवाहीको व्यवस्था समेत गरिएको छ । गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐनको दफा २६३ मा नोटमा केरमेट गरे जलाए तथा नोटमा विभिन्न किसिमले हानि नोक्सानी पु¥याए ३ महिनासम्म कैद तथा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।





























प्रतिक्रिया