नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ।
नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावनालगायतका विषयमा केन्द्रित रहेर यही पुस ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनबीच अन्तर्क्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्वअध्यक्षहरुसमेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भव्य रुपमा सम्पन्न भएको हाे ।
भेलाले बैंकहरुको उच्च ब्याज दरलगायत चालु पुँजी कर्जा लागू गरेको, जोखिम भार र एलसी मार्जिनलगायतका विषयहरुमा समेत छलफल गरेको थियो।
उक्त कार्यक्रममा नाडाका पूर्व अध्यक्षहरु रोहिणी थपलिया, सुनिल खेतान, सौरभ ज्योती, अन्जन श्रेष्ठ र शम्भुप्रसाद दाहालले कार्यक्रममा व्यवसायीहरुलाई मार्गदर्शन गर्दै नाडाले सुरु गरेको आन्दोलनको औचित्य र आवश्यकता बारे चर्चा गरेका थिए ।
सो कार्यक्रममा नाडाका १ न. प्रदेशअन्तर्गत रहेको मोरङ्ग अटोमोवाइल डिलर्श एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, मधेष प्रदेश अन्तर्गत रहेको जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष तेज नारायण साह, बागमती प्रदेश अन्तर्गत रहेको चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद भण्डारी तथा हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष दामोदर प्रसाद अटल, गण्डकी प्रदेश अन्तर्गत रहेको पश्चिमाञ्चल अटोमोवाइल डिलर्श एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश अन्र्तगत रहेको लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराई, कर्णाली प्रदेश अन्तर्गत रहेको कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालका अध्यक्ष भद्र भण्डारी र सुदूर पश्चिम प्रदेश अन्तर्गत रहेको सुदुर पश्चिम अटोमोवाइल डिलर्श एशोसिएशनका अध्यक्ष पुष्करराज ओझाले आन्दोलनका सम्बन्धमा आ-आफनो धारणा व्यक्त गरेका थिए ।
सो भेलाले दोश्रो चरणको आन्दोलनमा जाने भन्दै वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने निर्णय समेत गरेको छ । साथै व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने दृढता समेत व्यक्त गरेकोे छ ।
सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोश्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो । नाडाले मिति २०७९ मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा विषेश प्रस्तुती दिएका थिए ।
त्यसैगरी उक्त कार्यक्रममा नेपालका प्रख्यात मोटिभेसनल महेश दाहालले व्यवसाय सञ्चालनको क्रममा आउने चुनौती र समस्याहरुको समाधान कसरी गर्ने भन्ने विषयमा प्रस्तुती समेत दिएका थिए । सोही क्रममा नाडाका उपाध्यक्ष तथा आन्दोलन समितिका सभापती सुनिल रिजालले व्यवसायीहरुले गर्र्ने भनिएको दोश्रो चरणको आन्दोलनको ढाचाँ बारे जानकारी दिएका थिए ।
सो कार्यक्रमको धन्यबाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए । सोहि दिन बसेको नाडाको १३औँ कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औँ वार्षिक साधारण सभा २०७९ साल माघ २७ गते काठमाण्डौमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।





























प्रतिक्रिया