नयाँ सरकारसँगै सेयर बजारमा सुधारको संकेत ?

नयाँ सरकारसँगै सेयर बजारमा सुधारको संकेत ?


नयाँ सरकार गठनसँगै नेपालको शेयर बजारले हरियो बत्ती बाल्न सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वमा नयाँ सरकार बनेसँगै बजार बढ्न सक्ने प्रारम्भिक संकेत गरेको हो । 

अर्थमन्त्रीमा एमालेका महासचिव विष्णु पौडेलले जिम्मेवारी सम्हालेसँगै सेयर बजारले सकारात्मक मोड लिन्छ भन्नेमा लगानीकर्ताहरु ढुक्क देखिएका छन् । पौडेल तेस्रो पटक अर्थमन्त्रीमा नियुक्त भएका हुन् । 

पौडेल अर्थमन्त्री भएपछि सेयर लगानीकर्तामा उत्साह बढेको छ । पौडेल योभन्दा पहिले दुई पटक अर्थमन्त्री भएर काम गर्दा सेयर बजारमा उनले राम्रो छवि बनाएका थिए । यसअघि पनि पौडेल अर्थमन्त्री भएका बेला सेयर बजारले नयाँ उचाई लिएको थियो । उनी २०७२ र २०७७ सालमा अर्थमन्त्री बनेका थिए । उनी अर्थमन्त्री हुँदा सेयर बजारले इतिहास रच्न सफल भएको थियो । त्यसैले पनि अर्थमन्त्री पौडेललाई सेयर बजारमैत्री मन्त्रीको रुपमा पनि लिइन्छ । नेपाल पुँजी बजार लगानीकर्ता संघका लगानीकर्ताहरु पनि पौडेल अर्थमन्त्री हुँदा सेयर बजारमा उल्लेख्य वृद्धि हुन्छ भन्नेमा विश्वस्त छन् । 

इतिहासलाई पल्टाएर हेर्ने हो भने पौडेल २०७२ सालमा पहिलो पटक अर्थमन्त्री हुँदा सेयर बजारले छलाङ मार्न सफल भएको थियो । भूकम्प गएर देशको अर्थतन्त्रनै थला परेको समयमा पनि पौडेलले सेयर बजारलाई ९०० विन्दुबाट १८०० विन्दुसम्म पुर्याएका थिए । उनको पहिलो कार्यकाल सकिएपछि सेयर बजार पहिलेकै अवस्थामा झर्यो । त्यसपछि पौडेलको दोस्रो कार्यकाल २०७७ सालमा पनि सेयर बजारले नयाँ रेकर्ड बनायो । पहिलेकै अवस्थामा झरेर बसेको सेयर बजारलाई लयमा ल्याए । कोरोनाले मुलुकको अर्थतन्त्र नै संकटमा परेको बेला पनि अर्थमन्त्री पौडेलले सेयर बजारलाई ३२ सयको विन्दुसम्म पुर्याएका थिए । उनको दोस्रो कार्यकाल सकिएपछि ओरालो लागेको सेयर बजार अहिले दयनीय अवस्थामा रहेको लगानीकर्ताहरु बताउँछन् । 

पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि सेयर लगानीकर्तामा उत्साह बढेको छ । अर्थमन्त्री पौडेल पुँजीबजारका लगानीकर्ताले रुचाइएका मन्त्री बनेका छन् । पौडेल अर्थमन्त्री भएसँगै सेयर बजारमा कारोबार रकम बढ्न थालेको छ । दैनिक ५०–५५ करोड रुपैयाँ कारोबार हुने गरेकोमा अहिले करिव ४ अर्ब रुपैयाँ पुगेको छ । सेयर बजारको लागि यो सकारात्मक संकेत भएको लगानीकर्ताहरु बताउँछन् । 

अर्थ मन्त्रालयमा कसले नेतृत्व गरेको छ त्यसको असर सिधै सेयर बजारमा पनि पर्ने विश्वास गरिन्छ । नयाँ सरकार बनेपछि सोमबार साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैंठकमा अर्थमन्त्री पौडेलले नेपाली पुँजी बजारको विषय प्राथमिकताका साथ उठाएका थिए । यसअघि पौडेलकै कार्यकालमा पुँजी बजारले इतिहास रचेको थियो । यसपटक पनि अर्थमन्त्रीमा पौडेल नियुक्त भएसँगे सेयर बजारमा रौनक देखिन सुरु भएको छ । त्यसैले यसपालि अर्थमन्त्री पौडेलकै कार्यकालमा सेयर बजारले आकर्षक उचाई तय गर्ने लगानीकर्ताहरु बताउँछन् ।

यसो त सेयर बजार घट्नु घटिसकेको छ । थला परेको सेयर बजार उठेर उकालो लाग्ने गतिमा छ । सरकार सकारात्मक हुनु, तरलता अभावको समस्या समाधान हुँदै जानु, अर्थमन्त्रीले पुँजी बजारको विषय प्राथमिकतामा राख्नु जस्ता कारणले सेयर बजारमा सुधार आउनेमा लगानीकर्ताहरु विश्वस्त रहेको बताएका छन् । लगानीकर्ताका अनुसार अहिले सेयर बजारमा लगानी गर्न उपयुक्त समय पनि हो ।

Logo