रेमिट्यान्स उत्पादन क्षेत्रमा भन्दा उपभोगमा बढी

रेमिट्यान्स उत्पादन क्षेत्रमा भन्दा उपभोगमा बढी


नेपालले निर्यात भन्दा आयात धेरै गर्दा व्यापार घाटा चुलिँदै गएको छ । स्वदेशमा हुने उत्पादनको हिस्सा घट्दै गएपछि व्यापारघाटा वर्षेनी बढ्दै गएको हो । 

पाँच महिनामा देशको व्यापारघाटा झन्डै ६ खर्ब भएको छ। आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा बैदेशिक व्यापार घाटा ५ खर्ब ९७ अर्ब भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आवको यसै अवधिमा ७ खर्ब ३५ अर्बको व्यापारघाटा भएको थियो। यस्तै, सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण गत आवको तुलनामा चालु आवमा २०.७१ प्रतिशतले आयातको हिस्सा घटेको छ। यस्तै, आयातको साथै निर्यातको हिस्सामा पनि गिरावट आएको छ । गत आवको पाँच महिनामा १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएकोमा चालु आवको यसै अवधिमा ३४.६१ प्रतिशतले घटेर ६७ अर्ब ३० करोडको मात्रै निर्यात भएको छ । 

गत आवको तुलनामा व्यापारघाटा घटेको देखिएपनि समग्रमा हेर्दा नेपालले बेहोर्दै आएको वैदेशिक व्यापार घाटाले अर्थतन्त्रमा ठूलो असर परेको अर्थविद् डिल्लीराज खनालले बताए । 

अर्थविद् खनालका अनुसार व्यापारघाटा कम गर्न उद्योग क्षेत्रमा प्रतिस्पर्धा हुनुपर्छ । जसले गर्दा उत्पादन धेरै मात्रमा हुन्छ र आयातको रेसियो पनि घट्छ । नेपाल सरकारले उद्योगहरुलाई सही तरिकाले प्रबन्धन गराइदिनुपर्छ । त्यसका लागि उत्पादनमा लाग्ने लागतलाई घटाउने, बजारसँग जोड्ने, जस्ता नीति ल्याउनु पर्छ । साथै तत्कालउद्योगी व्यावसायीहरुको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । 

सरकार तथा निजी क्षेत्र उत्पादनतर्फ केन्द्रित हुन नसकेको अर्थविद् खनालले बताए । “धेरै उद्योग स्थापना गरीनेपालमै कृषि उत्पादन बढाउने हो भने यसले निर्यातलाई प्रबन्धन गर्छ”, उनले भने, “उद्योग तथा कृषि क्षेत्रलाई आईटीसँग जोडेर उत्पादन लागत घटाउने नीति ल्याउनु पर्छ ।”

सरकालले नीति त ल्याउछ तर त्यसलाई कार्यान्वयनमा नल्याउँदा व्यापार घाटा बढेर देशको अर्थतन्त्र मर्कामा परेको अर्थविद् खनालले बताए । “व्यापार घाटा कम गर्न नेपालमा भएको उर्जा क्षेत्रको सम्भावनालाई सही सदुपयोग गर्नुपर्छ”, उनले भने, “नेपालले पर्यटन सेवा मार्फत निर्यातलाई पनि प्रोत्साहन गर्नुपर्छ ।”

अर्थतन्त्र सुधारका लागि तीनै तहका सरकारले समन्वय गरेर पूर्वाधारका बजेट यथाशीघ्र कार्यान्वयन गर्नुका साथै प्राथमिकता क्षेत्रमा ऋण प्रवाहमा उच्च प्राथमिकता दिनुपर्ने अर्थविद् खनाल बताउँछन् । 

कुन आर्थिक वर्षमा कति व्यापार घाटा ?
नेपालले निर्यात भन्दा आयातको हिस्सा धेरै हुँदा वर्षेनी अर्बौ वैदेशिक व्यापारघाटा बेहोर्दै आएको छ । आर्थिक वर्ष २०७४/७५ मा देशले १२ खर्ब ४५ अर्बको आयातगर्दा ८१ अर्बको निर्यात भएको थियो । जसमा देशले ११ खर्ब ६३ अर्ब वैदेशिक व्यापारघाटा बेहोरेको थियो । यस्तै, आव २०७५/७६ मा १४ खर्ब १८ अर्बको आयात हुँदा ९७ अर्बको निर्यात भएको छ । जसमा नेपालले१३ खर्ब २१ अर्ब घाटा बेहोरेको छ ।यता आव २०७६/७७मा ११ खर्ब ९६ अबको आयात हुँदा ९७ अर्बको निर्यात भएको छ । जसमा १० खर्ब ९९ अर्ब व्यापारघाटा भएको हो । आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब आयात हुँदा १ खर्ब ४१ अर्ब निर्यात भएको हो । जसमा व्यापारघाटा १३ खर्ब ९८ अर्ब भएको छ । यसैगरीआव २०७८/७९ मा १९ खर्ब २० अर्ब आयात हुँदा २ खर्बको निर्यात भएको छ । जसमा १७ खर्बको बैदेशिक व्यापारघाटा बेहोर्नु परेको छ । 

अर्थविद् खनालका अनुसार सरकारले बजेटमा उत्पादनलाई प्राथमिकता दिएको उल्लेख गरे पनि उत्पादनमुखी अभियान सुरु गर्नसकेको छैन। जसले गर्दा अर्थतन्त्र टाट पल्टिदै गएको छ । नेपाल कृषि उत्पादन योग्य देश भएपनि उत्पादनको हिस्सा घट्दै गएको हो । सरकारी तथ्याङक अनुसार आर्थिक वर्ष २०३१/३२ सालमा देशको कुल अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ६९ प्रतिशत थियो भने अहिले घटेर २७ प्रतिशत पुगेको छ । यसले गर्दा देशमा आयातको हिस्सा बढ्दै गएको हो । 

अर्कोतर्फ, आर्थिक वर्ष २०३१/३२ सालमा रेमिट्यान्सको हिस्सा जम्मा १.२३ प्रतिशत थियो भने अहिले रेमिट्यान्स आप्रवाह बढेर २३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्स आप्रवाह बढेर उत्पादन क्षेत्रमाभन्दा धेरै उपभोग भएपछि आयात बढेर देशले वैदेशिक व्यापार घाटा बेहोर्दै आएको अर्थविद् खनालले बताएका छन् ।

Logo