पोखराबाट प्याराग्लाइडिङ विस्थापित नहुने

पोखराबाट प्याराग्लाइडिङ विस्थापित नहुने


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्ततः पोखराबाट प्याराग्लाइडिङ विस्थापित नहुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ हुने चार जोनमध्ये एउटालाई निरन्तरता दिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनपूर्व सराङकोट, तोरिपानी, मान्द्रेढुंगा र तामागी जोनबाट प्याराग्लाइडिङ हुने गरेको थियो । प्राधिकरणले हाल विमानस्थलबाट १० नटिकल माइलभित्र पर्ने सराङकोट, तोरीपानी र तामागी बन्द गरी कास्कीकोटको मान्द्रेढुंगालाई एक महिनाका लागि अस्थायी अनुमति दिएको छ । मान्द्रेढुंगा सराङकोटबाट ५ किमि र तोरीपानीबाट डेढ किमि पश्चिमतर्फ पर्छ । व्यावसायिक उडानका लागि सराङकोट र तोरीपानी उडानस्थल धेरै प्रयोग हुन्थ्यो भने मान्द्रेढुंगाबाट सिकारु पाइलटले एकल उडान भर्ने गर्थे ।

पुस १७ पछि प्याराग्लाइडिङको नियामक संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकरणले छ बुँदे निर्देशनसहित पत्राचार गरेको छ । प्राधिकरणले एक महिना परीक्षण उडान अवधि तोकेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म उडान भर्नुपर्ने, हरेक दिन स्लट र सेड्युल व्यवस्थापन निर्धारण गरेर मात्र उडान भर्नुपर्ने, यात्रुको बोर्डिङ पासको व्यवस्था गर्नुपर्ने र पूर्वनिर्धारित ‘एयर स्पेस’ मा मात्रै उडान भर्नुपर्ने प्राधिकरणका सर्त छन् । हवाई खेलकुद संस्थाले प्राधिकरणको निर्देशनबमोजिम हाल परीक्षण उडान गरिरहेको छ । मान्द्रेढुंगाबाट ‘फेरिलियराइजेसन’ उडान भइरहेको संस्थाका पूर्वअध्यक्ष योगेश भट्टराईले बताए ।

Logo