ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले एकीकृत कारोबार सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको मर्जरपछिको संयुक्त कारोबार उद्घाटन गरेका हुन् ।
त्यसबखत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रममा दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताए । वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताएका छन् । उनले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताए । साथै ग्लोवल आईएमई बैंक नेपालको बैंकिङ क्षेत्रमा कुल बजार हिस्सा नै करिव १० प्रतिशत ओगट्ने बैंक बनेको उनको दाबी छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले वित्तीय मध्यस्थता लागत घट्दै गएको बताएका छन् । उनले बैंक, वित्तीय संस्थाहरु मर्जर हुनुले वित्तीय प्रणाली थप सुरक्षित र संस्थाहरु स्वस्थ र सबल बन्ने बताए । बैंकहरुको लगानीलाई अब राष्ट्रिय उत्पादनमा प्राथमिकता दिइनुपर्ने गभर्नर अधिकारीले बताए ।
दुबै बैंक एक भई ग्लोबल आइएमई बैंकको नामबाट कारोबार सुरु भएको छ । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जरसम्बन्धी प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरिएको थियो । पछिल्लो समय वाणिज्य बैंकमा बिग मर्जरको क्रम सुरु भएसँगै नेपालराष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि निरन्तरता दिने भएसँगै बैंकहरु आपसमा गाभिएका हुन् ।
दुई वटा बैंक एक आपसमा मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको दाबी बैंकको छ ।
मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुने बैंकले बताएको छ ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बैंकमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् । दुई बैंकहरूको मर्जरपछि बैंकका कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू रहेका छन् । करिब ४० लाख ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूका आधारमा ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक भएको बताइएको छ ।





























प्रतिक्रिया