कर्णालीको मुख्यमन्त्री बने माओवादीका राजकुमार शर्मा

कर्णालीको मुख्यमन्त्री बने माओवादीका राजकुमार शर्मा


कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

२५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । कर्णालीमा बहुमतका लागि २१ सिट आवश्यक पर्छ । प्रदेशसभामा ४० जना सदस्यमध्ये माओवादी केन्द्रको १३, नेकपा एमालेको १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक जना सदस्य शर्माको समर्थनमा रहेका छन् । साथै प्रदेश सभामा १४ सिट जितेर ठूलो दल बनेकाे नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । 

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । अब कर्णालीमा माओवादीका संसदीय दलका नेता शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्रीमा रहनेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । 

Logo