किन बढ्छ सुनको भाउ ? दुई दिनमै २७ सयले बढ्यो

किन बढ्छ सुनको भाउ ? दुई दिनमै २७ सयले बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले विहिबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख २ हजार ५०० छ । यो अहिले सम्मकै नयाँ रेकर्ड हो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसन्दर बज्राचार्यले विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्यवृद्धि भएको बताए । विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताहरुले सुन बजारलाई सुरक्षीत क्षेत्रको रुपमा अंगाल्दै लगानी बढाएको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ । महासचिव बज्राचार्यका अनुसार केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा २३ सय देखि २५ सय डलरसम्म सुनको मूल्य पुग्ने आँकलन विज्ञहरुले गरेका छन् ।

गतवर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुन एक वर्षपछि तोलामा ३४ हजार ५ सयले बढेको हो । सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीहरुको भनाइ छ । बुधबार विश्व बजारमा प्रति औंस २ हजार ५५ डलरमा कारोबार भएको थियो ।

आज सुनचाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज सम्मकै उच्च विन्दुमा पुगेको छ । आज प्रतितोला ११ सयले बढ्दै १ लाख २ हजार ५ सयमा कारोबार भइरहेको छ । यो मूल्य आज सम्मकै उच्च हो । बुधबार पनि सुन १६ सयले बढेको थियो ।

गत हप्ता पनि सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पायो । गत हप्ताको आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै मंगलबार ७ सयले बढेको सुन बुधबार भने ३ सयले बढेको थियो । विहिबार ५ सयले बढेर सुन प्रतितोला ९९ हजारमा कारोबार भयो । साताको अन्तिम दिन शुक्रबार पनि ९९ हजार ३ सयमा कारोबार भएको थियो ।

यो हप्ता आइतबार ३ सयले बढेको सुन सोमबार स्थिर रहेको थियो । मंगलबार ३ सयले बढ्दै सुन ९९ हजार ८ सयमा कारोबार भएको थियो भने बुधबार १६ सयले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ । चाँदीको आजको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम गरिएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख २००० मा कारोबार भइरहेको छ । मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ । सुन बजार सुनसान देखिन्छ ।

Skip This
Skip This
Logo