मजदूरको ज्याला १०० रुपैयाँले बढ्यो, अब दैनिक न्यूनतम ९०० पाउने

मजदूरको ज्याला १०० रुपैयाँले बढ्यो, अब दैनिक न्यूनतम ९०० पाउने

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महंगी बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक बढाएको हो ।

समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला १०० बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो । निजी तथा गैरसरकारी सङ्घ–संस्थामा दैनिक ज्याला मजदूरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा १०० बढेको छ । यसअघि दैनिक ८०० पाउने मजदूरले अबदेखि ९०० पारिश्रमिक पाउनेछन् ।

निर्धारित दररेट अनुसार अब ज्यामीको दैनिक ६००, पलम्बरको ६८८, सिनियर पलम्बरको ७००, इलेक्ट्रिसियन हेल्परको ६००, इलेक्ट्रिसियनको ७००, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको ६४० र टेक्निसियनको ७४५ तोकिएको छ । त्यस्तै, हलुका ड्राइभरको हकमा ६६०, हेभी ड्राइभरको हकमा ७३०, हेभि इक्विप्मेन्ट अप्रेटरको ८२०, ड्राइभर सहयोगीको ६००, नगर निरीक्षकअर्थात कार्यालय सहयोगी सरहलाई रु ६००, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको ६०० दैनिक ज्याला निर्धारण गरिएको छ ।

मजदूरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नु पर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदूरले २६ दिन मात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐन अनुसार सरकारी क्षेत्रका काम गर्ने मजदूर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताए । “समितिले निर्धारण गरेको दररेट अनुसारै कारोवार हुनेछ”, उनले भने, “आफूखुशी बजार मूल्य तोक्ने र मजदूरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानून बमोजिम कारवाही गरिनेछ ।”

मूल्य निर्धारण समितिले विद्युतीय लगायतको केही सामग्रीको मूल्य निर्धारण गर्न भने सकेको छैन । विद्यूतीय पोल ट्रकबाट ढुवानी र विद्युत सम्बन्धी सम्पूर्ण निर्माण सामग्रीको मूल्य बाँकेमा स्वीकृत दररेट तथा ढुवानी अनुसार कायम हुने व्यवस्था गरिएको छ । हालसम्म जिल्लामा स्वीकृत दररेटमा समावेश नभएको जनाउँदै उक्त सामग्रीको हकमा बाँकेमा लागू गरिएको मूल्यसूची सुर्खेतमा लागू गर्नु परेको हो । मूल्य निर्धारण समितिले अधिकांश निर्माण सामग्रीको मूल्य गत वर्षकै यथावत राखेको छ । इँटाको मूल्य भने यसपालि ५०० बढाइएको छ ।

श्रीखण्ड, रक्तचन्दन लगायतको मूल्य तोकियो

मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दन लगायतको मूल्य तोकेको छ । जस अनुसार प्रतिकेजी श्रीखण्डको तीन हजार, रक्तचन्दनको दुई हजार, कपुरको दुई हजार ५००, तेजपत्ताको एक हजार तथा लप्सी, टिमूर र बकाइनोको ३००/३०० तोकिएको छ । रुद्राक्ष प्रतिगोटाको २००, सर्पगन्धको ५०० तोकिएको छ । त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको २५, उन्नत जातको चिली प्रतिगोटाको १०० रुपैयाँ निर्धारण गरिएको जिप्रकाले जनाएको छ ।रासस

Logo