आईएमएस ग्रुपले विमानस्थलको आगमन कक्षमा नयाँ एलिभेटर थप्ने, ट्रलीको प्रयोग बन्द

आईएमएस ग्रुपले विमानस्थलको आगमन कक्षमा नयाँ एलिभेटर थप्ने, ट्रलीको प्रयोग बन्द

केन्द्रबिन्दु
0
Shares

आईएमएस ग्रुपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ आगमन कक्षमा सुरक्षा एवं सरल आगमनको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएको छ । 

विमानस्थलमा केही दिनअघि आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटनामा ध्यानाकर्षण जनाउँदै ग्रुपले यात्रु बाहिर निस्किने मार्ग, प्रतिक्षा कक्ष तथा पार्किङ क्षेत्रलाई सहज, सुरक्षित बनाउन  पूर्णरुपमा प्रतिबद्ध रहेको जानकारी दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट यात्रुहरु बाहिर निस्किने मार्गमा एलिभेटरमा बढी भीडभाड हुन थालेपछि ट्राभलेटर दोस्रो चरणमा निर्माण गरिएको थियो ।  

विमानस्थलको भन्सार क्षेत्र कटेपछि यात्रुहरुका लागि सहज आगमन, लथालिङ्ग पार्किङ समस्याको उचित व्यवस्थापनका लागि यात्रु मार्ग, यात्रु प्रतिक्षा कक्ष, पार्किङ क्षेत्रको निर्माण आयोजना सरकारको टेन्डर आह्वानपछि निर्माण, व्यवस्थापन, सन्चालन र हस्तान्तरण (बुट) मोडलअनुसार ३० वर्षे लिजसहित आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिको पूर्ण लगानीमा रसुवा कन्स्ट्रक्सनसँगको साझेदारीमा निर्माण भएको हो ।

यात्रुहरुले आगमन कक्षबाट बाहिर निस्कँदा प्रयोग गर्ने ट्रलीहरुको व्यवस्थापन यो निर्माणका लागि भएको सम्झौताअन्तर्गत नपरे पनि आइएमएस एयरपोर्ट सर्भिसेजले ट्राभलेटरमा सुरक्षित रुपमा प्रयोग गर्न मिल्ने ह्विल लकिङ सिस्टम भएका नयाँ ट्रलीहरु खरिद गरेर उपलब्ध गराउँदै त्यसको व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो । तर, ह्विल लकिङ सिस्टम नभएका विमानस्थलमा पहिले देखि नै प्रयोेगमा रहेका ट्रलीहरु प्रस्थान कक्षबाट आगमन कक्षमा पुगेर नयाँ ट्रलीहरुसँग मिसमास भइरहे पछि ट्राभलेटरमा ती पुराना ट्रलीहरुका कारण एकभन्दा धेरै लगेज भएका यात्रुहरुका लागि समस्या भएको थियो ।

अब आइएमएस एयरपोर्ट सर्भिसेज प्रालिले विमानस्थलको आगमन कक्षमा जतिसक्दो छिटो १० यात्रु क्षमताको नयाँ एलिभेटर थप्ने जनाएको छ । जसले उक्त क्षेत्रमा हुने भीडभाड व्यवस्थापनमा सहज हुने र समस्याहरु न्यूनिकरणमा सहयोग गर्ने बताइएको छ ।  

आगमन कक्षमा ह्विल लकिङ सिस्टम भएका ट्रलीहरु र प्रस्थान कक्षका ह्विल लकिङ सिस्टम नभएका ट्रलीहरु मिसमास नहोस् भन्नका लागि उच्च सतर्कता अपनाइने र  ट्रलीहरु नियमित रुपमा मर्मतसम्भार गरिने बताइएको छ । साथै दुई वटा सुटकेससम्म भएका यात्रुहरुले आगमन कक्षको ट्राभलेटर सुरक्षित रुपमा ट्रलीविना नै प्रयोग गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।  

तर, उक्त ट्राभलेटरमा अर्को सूचना जारी नभएसम्मका लागि ट्रलीको प्रयोग पूर्णरुपमा बन्देज गरिएको समेत कम्पनीले जनाएको छ ।  

Logo