स्वस्थ ढङ्गले व्यापार गर्नुपर्छ -पूर्वप्रधानमन्त्री ओली

स्वस्थ ढङ्गले व्यापार गर्नुपर्छ -पूर्वप्रधानमन्त्री ओली


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढङ्गले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन् । सिएनआइ कोसी एक्स्पो–२०७९ को आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । 

पूर्वप्रधानमन्त्री ओलीले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताए । प्रतिकूल समयमा निरास भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै उनले समस्यासँग लड्न सक्नुपर्ने र समस्याको समाधान खोज्नुपर्ने बताए ।

विराटनगरबाटै उद्योग, उद्योगी र व्यापार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए । उद्योगी एवं व्यवसायीले सङ्गठनात्मक प्रतिस्पर्धा गर्नुभन्दा काम र उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै उनले भने, “समस्याको समाधान नगदा नगदी हुनुपर्छ, उधारोमा होइन ।”

उनले थपे, “कुराले चिउरा नभिज्ने, सरकारले उद्योगी र व्यापारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ ।” गएको एक महिनादेखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराए । 

उनले नेपालको सबैभन्दा होचो भू–भाग केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गरे । 

अध्यक्ष ओलीले उद्योग र उद्योगीको समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै त्यसका लागि समस्यालाई बुँदागतरूपमा ल्याउन आग्रह गरे । 

Logo