कृषि सामग्री कम्पनी लिमिटेडले आगामी धान बालीकालागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप सात अर्ब ७५ करोड रुपैँया माग गरेको छ ।
धान बालीमा मलको आपूर्ति सहज बनाउन ९० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सात अर्ब ७५ करोड रुपियाँ बजेट माग गरेको हो । कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकमको स्रोत सुनिश्चत गर्न पत्राचार गरेको हो । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले हिउँदे बालीका लागि मल पर्याप्त भए पनि धान बालीका लागि अभाव हुने भएकाले मल आयात गर्न उक्त रकम माग गरिएको जानकारी दिए । सरकारले मल खरिद गर्न चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपियाँ विनियोजन गरेको थियो । थप १६ अर्ब रुपियाँको स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरिसकेको छ ।
मल खरिदका लागि ३१ अर्ब रुपियाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ । यसले आगामी वैशाख महिनासम्मका लागि मात्र पुग्ने हुँदा थप ९० हजार मेट्रिक टन मल खरिद गर्न थप रकम माग गरिएको कम्पनीले जनाएको छ । ग्वोबल टेन्डरबाट स्विस सिङ्गापुर कम्पनीले ल्याउन लागेको ३० हजार मेट्रिक टन मल कोलकात्ताबाट लोडिङ भइसकेकाले केही दिनमै आइसक्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले २० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपीका लागि एक–दुई दिनमै ग्लोबल टेन्डर गर्न लागेको जनाएको छ ।































प्रतिक्रिया