युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।
युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०÷१३२÷३३ केभीको क्रमशः चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभीप्रसारण लाइन निर्माण भइरहेको छ ।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ । युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ । युनियनको उच्चस्तरीय टोलीले त्रिशूली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका–२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो ।
टोलीले नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिहरुसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेको थियो । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो । अहिले निर्माणले गति लिएको छ ।
यस्तै, इआइबीले चिलिमे–त्रिशूली प्रसारण लाइनका अतिरिक्त १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना, मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरुमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लूले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमशः ७१ र ७० प्रतिशत रहेको छ । प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण आगामी ९ चैतभित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको छ ।
प्रसारण लाइन निर्माणमा करिब तीन सय जना, चिलिमे हब सबस्टेसनमा ९० जना र त्रिशूली थ्रि बी हवमा १६० जना श्रमिक परिचालित छन् । कार्यकारी निर्देशक घिसिङले श्रमिकको संख्या थप गरी टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सबस्टेसनका उपकरणहरु जडान गर्ने लगायतका सबै कामहरु समानान्तर रुपमा अगाडि बढाउन निर्देशन दिए । दुवै सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरु आयोजना स्थलमा ल्याइसकिएको छ ।
यता, प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेको छ । अहिले सबस्टेसनहरुमा उपकरणहरु जडान र बाँकी रहेका सिभिल संरचना निर्माण भइरहेको छ । कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरुमध्ये ४४ वटाको जग हालिएकोछ । १३वटा टावरहरुको आंशिकजग हालिएको छ । १५ वटा टावरको जग हाल्न खन्ने तथा ढलाइनको काम भइरहेको छ । २९ वटा टावर खडा गरिएको छ । खडा गरिएका टावरमा तार तान्नमुख्य ठेकेदारले सहायक ठेकेदारसँग सम्झौता गरिसकेको छ । तार तान्न छिट्टै सुरु हुने छ ।
तत्काल १० किलोमिटर तार तान्न सकिन्छ । आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले अहिले निर्माणमा तिब्रता दिइएकोउल्लेख गर्दै चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखी काम भइरहेको जनाएको छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो ।





























प्रतिक्रिया