सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको छ -मन्त्री शर्मा

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको छ -मन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको दावी गरेकी छन् । 

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै उनले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गरिन् । 

उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्विकार गर्दै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताइन् । 

मन्त्री शर्माले भनिन्, ‘मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन ? कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ । यसका निम्ति यहाँहरुका आईडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु । र, हामीले यस क्षेत्रको विकासको निम्ति सूचना प्रविधि मन्त्रालयको मन्त्रीको हैसियतले म के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने यस क्षेत्रको विकास, निर्माण र राष्ट्र अघि बढाउनका लागि सविस्तार अध्ययन गरेर अघि बढनेछौं । यसका निम्ति यहाँहरुको सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा गर्दछु ।’ 

मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा केही गरौं भन्ने भावना साथ अघि बढ्नुपर्नेमा पनि जोड दिइन् । ‘यस क्षेत्रमा प्रधानमन्त्रीकै नेतृत्वको डिजिटल फ्रेमवर्क नेपालजस्ता निर्देशक समितिहरु छन् । तर पनि आवश्यक काम हुन सकेको छैन । केही पनि भएन भन्ने मेरो भनाई होइन । तर पनि जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । त्यसकारण हाम्रा विभिन्न संघ, संस्थाहरु जति पनि छन । मन्त्रालयबाट, हाम्रा बनेका ती सरकार निकायहरुबाट र निजी क्षेत्रबाट बनेको यो क्यान महासंघबाट हामी सबैले सहकार्य गरेर एउटा राष्ट्रका निमित्त, सूचना प्रविधिको विकासको निमित्त हामी अगाडि बढौं । यो कुरा म यहाँ राख्न चाहन्छु ।’ उनले भनिन् ।  

Logo