यी बैंकहरुलाई किन ५० लाख रुपैयाँ जरिवानाको कारवाही भयो ?

यी बैंकहरुलाई किन ५० लाख रुपैयाँ जरिवानाको कारवाही भयो ?

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नियम विपरित काम गर्ने विभिन्न ९ बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारवाही गरी जरिवाना तिराएको हो । कारवाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी बैंक, तत्कालिन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक), प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपालइन्भेष्टमेन्ट मेगा बैंक), सिभिल बैंक र नबिल बैंक रहेको छ । तीमध्ये चार वटा बैंकलाई ५०–५० लाख रुपैया नगद जरिवानासमेत गराएको छ ।

राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, साविक बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई प्रति बैंक ५० लाख रुपैयाँ जरिवाना तिराएको हो । ती बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको लगायतको विषयमा नगदसहित कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैंकको सीईओलाई सचेत गराएको छ । यस्तै, सानिमा बैंकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा (७) को उलङ्घन हुनेगरी तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार सचेत गराइएको छ ।

यसैगरी, तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५÷३÷८ मा ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न पाइने छैन,’ भन्ने व्यवस्थालाई पालना नगरेकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम बैंकका सीईओलाई सचेत गराइएको छ ।

त्यस्तै, प्रभु बैंकलाई राष्ट्र बैंकको कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्थापना नगरेको कारण राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको छ । यस्तै, नबिल बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था, कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ७ (फ) उपदफा १ (क) बमोजिम सचेत गराइएको छ ।

 

Logo