मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः सेयर लगानीकर्तामा निराशा, ब्याजदर पनि घटेन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः सेयर लगानीकर्तामा निराशा, ब्याजदर पनि घटेन


नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्यो । चालु आर्थिक वर्षको मौद्रिक नीतिकोअर्धवार्षिक समीक्षा उद्योग व्यवसायी तथा सेयर लगानीकर्ताहरूका लागि निराशजनक भएको छ । अर्धवार्षिक समीक्षाले बढेको ब्याजदर घटाउन नसकेको र धितोपत्र बजारको मार्जिन लेन्डिङको १२ प्रतिशतको सीमा पनि खारेज नगरेको कारण उद्योगी व्यवसायीहरू, धितोपत्र बजारका लगानीकर्ताहरू निराश भएका हुन् । 

अर्धवार्षिक समीक्षा सेयर लगानीकर्ताहरूको अपेक्षा अनुसार भएन् । गत आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन धितोकर्जामा लागू भएको ४–१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने लगानीकर्ताहरूको माग गरेपनि उनीहरुको माग सम्बोधन नभएको हो । जसकाकारण धितोपत्र बजारका लगानीकर्ताहरू मौद्रिक नीतिको समीक्षाप्रति निराश छन् । 

आर्थिक वर्षको सुरुदेखि नै मार्जिन कर्जामा कुनै सीमा तोक्न नहुने भन्दै लबिङमा रहेका लगानीकर्ताहरूले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा ४–१२ को पहिलो सीमा खारेज गर्न सफल भएपनिदोस्रो त्रैमास अर्थात अर्धवार्षिक समीक्षाबाट अन्तिम सीमा खारेज गर्न भने असफल भएका छन् । 

सेयर बजारमा लगाइएको १२ करोडको सीमा हटाउने माग राखेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । “आफ्नो सम्पत्ति धितो राखेर पनि कर्जा लिन नपाउने पनि हुन्छ ? उनले भने, चालु आर्थिक वर्षको सुरुदेखिनै धितोपत्र बजारमा लगाएको सीमा हटाउने माग राखेपनि राष्ट्र बैंकले सुनेन ।”

सेयर धितोबापतको जोखिम भार १५० प्रतिशतलाई घटाएर १०० प्रतिशत गर्ने माग गरेको लगानीकर्ता रौनियारले बताए । उनले भने, “धितोबापतको जोखिम भार १५० प्रतिशत किन चाहियो ? यसलाई घटाएर १०० प्रतिशतमा नै झार्नुपर्ने हाम्रो माग हो ।”

अर्कोतर्फ, सीडी रेसियोका कारण उच्च ब्याजदर वृद्धि भएका कारण लगानी गर्ने वातावरण समेत नभएकाले सीडी रेसियोलाई सीडीसी रेसियोमा नै लैजानु पर्ने उनले बताए । तर राष्ट्र बैंकले यी सबै माग सम्बोधन नगरेको उनको भनाइ छ । 

४४ खर्ब रुपैयाँ बराबरको पुँजी पुगिसकेको धितोपत्र बजार राष्ट्र बैंकको गलत नीतिका कारण २३ खर्बमा झर्न पुगेको उनले बताएका छन् । मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताहरूले गरेको चार वटा माग सम्बोधन नगरेकोमा उनले गुनासो गरेका छन् ।

यस्तै, बजारमा तरलता अभावको समस्यालाई समाधान गरी सहज गरिदिनु पर्ने माग गरेकोमा राष्ट्र बैंकले नसुनेको उनको तर्क छ । उनका अनुसार राष्ट्र बैंकले चाहने हो भने तरलता अभाव सहज गर्न मजाले सक्छ । यदि तरलता सहज भयो भने ब्याजदर पनि घट्छ । तर राष्ट्र बैंकले हाम्रो कुनै पनि माग सम्बोधन गरेको छैन् । मौद्रिक नीतिले सेयर लगानीकर्ताको माग सम्बोधन नगर्दा सेयर बजारमा प्रत्यक्ष असर गरेको छ । लगानीकर्ताहरुले ४ वटा माग पूरा गराउन अर्थमन्त्री र गभर्नर पनि लागि परेका थिए तर अन्त्यमा हाम्रो कुरालाई वास्ता नगरी छाँगाबाट खसालेको जस्तो गरायो । 

अर्कोतर्फ, लगानीकर्ताको कुनै पनि माग सम्बोधन नहुँदा लगानीकर्तामा निराशा छाएको छ । त्यसैले पनि बजार डाउन भएको सेयर लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । तर, अब कस्तो नीति आउँछ । हामीले सोचेको अनुसार भएन् भनेर तनावमा बस्न नहुने उनको भनाइ छ । उनका अनुसार हामीले दीर्घकालीन लगानी गरेको हो । आजकोनीतिलाई हेरेर मात्र लगानी गरेको हैन् भनेर लगानीकर्ताहरुले सोचिदिनु भयो भने केही अप्ठेरो पर्दैन । सेयर बजारप्रति अर्थमन्त्री पनि सकारात्मक भएका कारण बजार आगामी दिनमा बढ्दै जाने उनको विश्वास छ । 

ब्याजदर पनि घटेन
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले अहिलेको मुख्य समस्या ब्याजदरको विषयलाई सम्बोधन नगरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । आर्थिक संकटबीच बढेको ब्याजदरलाई मौद्रिक नीतिको समीक्षाले घटाउँछ भन्ने अपेक्षा उद्योगी व्यवसायीहरूले राखेका थिए । तर, मौद्रिक नीतिले ब्याजदरलाई यथावत् राख्ने निर्णय गरेसँगै व्यवसायीहरू निराश भएका हुन् । शुक्रबार आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको केन्द्रीय बैंकले बैंकको ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखिएको जनाएको छ ।

Logo