अहिले बैंकिङ क्षेत्र पनि दबाबमा छ, एक अंकमा ब्याजदर झार्न सकिन्न -अध्यक्ष केसी

अहिले बैंकिङ क्षेत्र पनि दबाबमा छ, एक अंकमा ब्याजदर झार्न सकिन्न -अध्यक्ष केसी

केन्द्रबिन्दु
0
Shares

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । 

बुधवार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले आर्थिक सूचकहरुमा देखिएको सुधारले बिस्तारै ब्याजदर घट्ने अवस्था देखिएपनि बैंकहरुले तत्काल एकल बिन्दुमा ब्याजदर कायम गर्नसक्ने अवस्था नदेखिएको बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा केही राम्रो हुने संकेत देखिए पनि बैंकहरु दबाबमा नै रहेको उल्लेख गरे । 

अध्यक्ष केसीले उद्योगी व्यवसायीहरुबाट बैंकको ब्याजदर बढी भएको भन्दै बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा ल्याउन मागहरु आएपनि तत्काल ब्याजदर घटाउन सक्ने अवस्था नभएको बताए । उनले बैंकहरुले लिएको नीतिले विस्तारै ब्याजदर घट्दै जाने अवस्था देखिएको पनि उल्लेख गरे । बैंकहरु कर्जाको ब्याजदरलाई स्थिर राख्नुपर्छ भन्ने विषयमा सजक रहेको उनले बताए । 

उनले संसारभर ब्याजदर बढीरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए । उनले  चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा २ सय अर्बको निक्षेप बैंकहरुले संकलन गरेको बताउँदै आर्थिक वर्षको अन्तिम ५ महिनामा २ सय ३० अर्ब जति निक्षेप संकलन गर्ने लक्ष्य रहेको बताए । उनले चालु आर्थिक वर्षमा बैंकको निक्षेप ४५० देखि ५०० अर्ब पुग्ने बताए । 

अध्यक्ष केसीले बैंकहरुले कर्जा प्रवाह पनि चालु आर्थिक वर्षमा ४०० अर्ब हाराहारीमा गर्ने बताए । उनले बैंकहरुको सिडी रेसियो ८६.३९ प्रतिशत रहेको बताए । 

अध्यक्ष केसीले बैंक वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋृण लिएका १८ लाख ऋणीले दबाब सिर्जना गरेको बताए । उनले अहिले नेपालमा मात्रै ब्याजदर बढेको नभएर भारतको केन्द्रिय बैंकले केही दिनअघि मात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको बताए । बैंक वित्तीय संस्थाले आफ्नो पुँजीभन्दा कैयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ऋणीभन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था रहेको उनले बताए । 

उनले बजारमा ऋणीको धेरै कुरा आएको तर निक्षेपकर्ताको विषयमा कुनै कुरा नआएको बताए । उनले बैंकहरुले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नुपर्ने भएकाले अहिले बैंकिङ क्षेत्र पनि दबाबमा रहेको बताए ।

अध्यक्ष केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि अझै अर्थतन्त्र पूरै लयमा नभएको बताए । उनले अझै सजक हुनुपर्ने अवस्था रहेको भन्दै केन्द्रिय बैंकले मौद्रिक नीतिको समीक्षामा कुनैपनि दर संशोधन नभएको उल्लेख गरे । ऋणीहरुले बैंक बिरुद्ध आन्दोलन गर्दा भविष्यमा बैंकिङ उद्योगलाई अफ्ठ्यारो पार्ने  अवस्था आएको उनले बताए ।  

उनले बैंकहरुले कोभिड महामारीको अवस्थामा पनि ९३ सय अर्ब निक्षेप राख्ने निक्षेपकर्ताहरुको हरेक दिनको ब्याज भनेको समयमा दिइरहेको पनि बताए । उनले ऋणीहरुले बैंकबाट कर्जा लिएर उद्योग खोल्दा पनि उद्योगमा बैंकहरुको बढी पुँजी रहेको बताए । बैंकहरुको आग्रहमा राष्ट्र बैंकले साना तथा घरेलु व्यवसायीहरुलाई कर्जा बुझाउने समय थप गरेकाले केही सहजता ल्याउने उनले बताए ।  

अध्यक्ष केसीले बैंकिङ क्षेत्रमा कोभिडको समयमा प्रवाह गरेको कर्जा समेत उठ्न नसकेकाले खराब कर्जाको अवस्था वृद्धि हुँदै गएको बताए । उनले बैंकहरुको खराब कर्जाको अवस्था २.२४ प्रतिशत रहेको बताए । 

Logo