काठमाडौं,
काठमाडौंको भृकुटीमण्डपमा मंसिर १२ देखि १६ गते सम्म १७ औं हस्तकला ब्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता हुने भएको छ ।
नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको जनाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले उक्त जानकारी गराउनु भएको हो । मेलामा विदेशी व्यवसायीहरुको समेत सहभागिता रहने भएकाले नेपाली उद्यमीहरुले व्यवसायीक सम्बन्ध स्थापना गर्न सक्नेछन् । मेलामा महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघको समेत सहभागिता रहनेछ । मेलामा धातुकला, सुनचाँदी सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र वाँसबाट बनेका सामानहरु राखिने संयोजक शाक्यले जानकारी दिनुभयो ।
मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय स्टल रहनेछन् । त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको पनि करिब २० वटा स्टल रहनेछन् । मेलामा हस्तकला कलाकार तथा कालिगढहरुबीच प्रतिस्पर्धा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिने महासंघले जनाएको छ ।
प्रकाशित: १० मंसिर २०७६ १०:२९ मंगलबार