मोदी इनर्जीको आईपिओ बिक्री खुला

मोदी इनर्जीको आईपिओ बिक्री खुला

केन्द्रबिन्दु
0
Shares

मोदी इनर्जी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गरेको छ।

कम्पनीले दुईचरण गरी उक्त आईपिओ बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मोदी इनर्जीले आइपीओ बिक्री खुला गरेको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको हो। यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा.पा– ३, मोदी गा.पा वडा नं–५, २, ६ र कुश्मा न.पा–८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। 

दोश्रो चरणमा कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। दुवै समूहका आवेदकहरुले चैत ९ गतेसम्म आइपीओमा आवेदन दिनसक्नेछन्। उक्त अवधिसम्म सम्पूर्ण सेयरमा आवेदन नपरेमा चैत २४ गतेसम्म स्थानियहरुका लागि आइपीओ बिक्री खुला रहने कम्पनीले जानाएको छ।

प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ भर्न सकिनेछ। उक्त आईपिओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। आयोजना प्रभावितले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक र कुमारी बैंकको कुस्मा, पर्वत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन पाउने व्यवस्था गरिएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम जनाउने ‘आइआरएन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ।

Logo