नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । यसकालागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरु पुरा गर्नको लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ ।”
उनले सस्तो लोकप्रियता र भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गरे ।
कोरोना भाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताए ।
त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उनले बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गरे । “वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उनले भने ।
हरेक असजिलोमा संघर्ष गरेर सहज परिस्थितिको अपेक्षा गरेर बस्ने निजी क्षेत्र सानातिना असहजताबाट आत्तिन नहुने पनि उनले बताए ।
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरुको प्रतिनिधित्व हुनुप-यो भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकाललेले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पुरापुर प्रयास गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।





























प्रतिक्रिया