नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् ।
बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताएका हुन् । उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताए ।
उनले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताए ।
मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताए । उनले स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने बताए । सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको उनले बताए ।
उनले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताए । शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूरदराजमा बस्ने नेपालीहरु उपभोक्ता अधिकार र हकको विषयमा पूर्ण रुपमा जानकारी नभएको उनले बताए ।
त्यस्तै,उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताए । उनले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताए ।
उनले उपभोक्ता अधिकारको सुधार गर्दा गुणस्तरियता पनि थप्दै जानुपर्ने आवश्यकता रहेको बताए ।





























प्रतिक्रिया