नेपाल एकीकरणजस्तै आर्थिक सम्मृद्धिको अभियान पनि गोरखाबाटै सुरू गरौँ -वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल एकीकरणजस्तै आर्थिक सम्मृद्धिको अभियान पनि गोरखाबाटै सुरू गरौँ -वरिष्ठ उपाध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन् । 

गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक सम्मद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्नुपर्ने बताएका हुन् । 

“नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग संचालन गर्न मैले पनि पहल गर्नेछु । यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,” उनले भने, “यसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्न आग्रह गर्न चाहन्छु।”

उनले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए । 

कोरोना भाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले पुर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल एकीकरण गोरखाबाट शुरू भएर सफल भएको र अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा विकास गनुपर्नेमा जोड दिए ।  

उनले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए । बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरुले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि उनले बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले महासंघको आगामी ५७औं अधिवेशनमा विभिन्न पदमा प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गरेका छन् । 

Logo