अमेरिकन बैंकको हलचलले विश्वभर महंगियो सुनको मूल्य, किन यस्तो भयो ?

अमेरिकन बैंकको हलचलले विश्वभर महंगियो सुनको मूल्य, किन यस्तो भयो ?

केन्द्रबिन्दु
0
Shares

आइतबार सुन तथा चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ हजार ९३३ रुपैयाँले सुनको मूल्य बढेसँगै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँको उच्च विन्दुमा कारोबार भइरहेको छ । यसअघिको कारोबारको दिन अर्थात शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसैगरी तेजावी सुन पनि आज प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । 

सुनको मुल्यमा वृद्धि हुन सक्ने प्रक्षेपण तीन महिनाअघि नै सिंगापुरका केही विश्लेषकले गरेका थिए । ती विश्लेषकले सुनको मुल्य प्रतिऔंश २५ सय देखि ४ हजार अमेरिकी डलरसम्म पुग्नसक्ने प्रक्षेपण गरेका थिए । त्यतिबेला उनीहरुको उक्त प्रक्षेपण मिल्ला भन्ने धेरै मानिसलाई लागेकै थिएन । हुन त अहिले पनि त्यो स्तरमा सुनको भाउ अकासिएला भन्ने आधार केही पनि छैन । तर सुनको भाउ निकै महँगिन्छ भन्नेमा संसारभरका ठूला लगानीकर्ता सहमत देखिएका छन् । 

विश्लेषकहरुका अनुसार अमेरिकाका दुईवटा बैंक आर्थिक संकटका कारण बन्द हुनु, संसारभर बढ्दो ब्याजदर र अमेरिकाको आक्रामक वित्तीय नीतिले डलरको मूल्यमा उच्च बृद्धि गराएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको माग ह्वात्तै बढेको हो । जसमध्ये करिब ५० प्रतिशत गरगहना बनाउन, ४० प्रतिशत लगानी र १० प्रतिशत औद्योगिक क्षेत्रका लागि माग बढेको छ । 

अन्तर्राष्ट्रिय आर्थिक अनलाइन सञ्चार माध्यम ट्रेडिङ इकोनोमीका अनुसार मार्च ९, २०२३ यता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । त्यसयताको १० दिनमा मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय २९.१ डलरबाट १७५.२ डलर प्रतिऔंसले बढेर १९ सय ८८.१ डलर पुगेको छ ।

यी हुन् सुनको भाउ निर्धारणका मुख्य आधारहरु
प्रत्येक दिन स्थानीय समय अनुसार बिहानको १०ः३० र बेलुकाको ३ बजे दिनको दुई पटक सुनको मुल्य अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र यूरो मुद्रामा निर्धारण गरिन्छ । निर्धारणको बेला यसको मूल्य प्रति ‘ट्रोय–आउन्स’ मा गरिन्छ । पछि यसलाई प्रति ग्राममा परिवर्तन गरेर संसार भरि जानकारी गराइन्छ । अमेरिका विश्वकै सबैभन्दा बढी सुनको संचय भएको देश हो । जहाँ न्यूयोर्कको न्यूयोर्क मर्चेन्ट एक्सचेन्ज (एनवाईएमईएक्स) र कम्बोडिटी एक्सजेन्ज (सीएमईएक्स) मा किनबेच हुने सुनको भाउले संसारभरका सबै ठाउमा सुनको मुल्यले प्रभाव पार्दछ । त्यस्तै लण्डन मेटल एक्सचेन्ज र लण्डनको बुलियन मार्केटको भाउ, हंकंगको ‘चाइनीज गोल्ड एण्ड सिल्भर एक्सचेन्ज’ ‘दुबई गोल्ड एण्ड कम्बोडिटी एक्सचेन्ज’ आदिको कारोबारबाट विश्वको सुनचाँदीको भाउ निर्धारण हुनेगर्छ । 

यसर्थ हामी के बुझन सक्छौं भने अमेरिकी, यूरोपियन र एसियन बजारहरुमा हुने सुनको कारोबारले विश्वमै सुनको बजारलाई प्रत्यक्ष प्रभाव पारी रहेको हुन्छ । सोही अन्तर्राष्ट्रिय बजारमा आउने सुनको भाउको उतार–चढावको प्रत्यक्ष प्रभाव नेपाली सुनचाँदी बजारमा तत्काल देखिएको छ । बिगतको समयमा संचारका साधनहरुको बिकास नहुँदा यसको असर कम हुन्थ्यो भने अहिलेको समयमा यस्तो प्रभाव बढी देखिन थालेको छ । गत वर्ष सुनको मूल्य उचाइमा पुग्दा डलरको भाउ १ सय २३ रुपैयाँ थियो । तर एक वर्षभित्रै डलरको विनिमय दर १० रुपैयाँ हाराहारीले बढ्न पुग्यो । यसले सुनकै भाउ पनि अपेक्षित स्तरमा सस्तिन पाएन र नेपाली बजारमा सुन तोलाकै ९१ हजार ३ सयभन्दा तल ओर्लिन पाएन । गत असोज ५ पछि उकालो लागेको सुनको मूल्य साढे ४ महिनामा १६ हजार २ सय महँगिएर १९ माघमा १ लाख ७ हजार ५०० पुगेको थियो ।

त्यसपछि पनि सुनको भाउ नसस्तिएको त होइन । गत फागुन २५ मा तोलाको १ लाख १ हजारसम्म झरेको सुन त्यसयताका ७ दिनमा ९ हजार महँगिएर आइतबार  १ लाख १० हजार पुगेको हो । यो माघ १९ को कीर्तिमानी मूल्यभन्दा बढी हो । 

Skip This
Skip This
Logo