काठमाडौं ।
सरकारसँग चिनीको मौज्दात सकिंदै गएकाले बजारमा हाहाकार भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
चिनीको अभाव भएका कारण विस्कुट, चकलेट, जुर तथा अन्य पेय पद्धार्थको उत्पादन प्रभावित हुन सक्ने उद्योगीहरुको भनाइ छ । उद्योगी महेश जाजुले सरकारले तत्काल चिनीको समस्या समाधान नगरे बजारमा ठूलो हाहाकार हुने बताए ।
‘सरकारले ध्यान नदिँदा बजारमा चिनीको हाहाकार भएको छ ।’ उद्योगी जाजुले भने । चिनी प्रयोग हुने खाद्य तथा पेय उद्योगका लागि वार्षिक साढे ४ देखि ५ लाख टन चिनी खपत हुन्छ । बजार मूल्य हस्तक्षेपको गर्ने संस्थाको रुपमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएपछि बजारमा मूल्यवृद्धि भएको हो । उता स्वदेशी उद्योगसँग पनि मौज्दात सकिएको छ । त्यसको फाइदा उठाउँदै व्यापारीले मिलेमतो गरी चिनीको मूल्यवृद्धि गरेका हुन् ।
सरकारसँग आन्तरिक उत्पादन जम्मा साढे २ लाख टन मात्रै छ । आन्तरिक उत्पादनले नथेग्ने भए पनि सरकारले चिनी आयात गर्न चासो नदेखाउँदा बजारमा चिनीको अभाव भएको उद्योगी जाजुले बताए । चिनी मिलहरुले उखु किसानलाई आधार बनाएर सरकारसँग बार्गेनिङ गर्ने गरेको उनको दाबी छ । भारतमा नेपाली रुपैँयाँ ४५ मा पाइने चिनीको मूल्य अहिले नेपालमा १०० रुपैँयाँ पुगेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा हल्ला भए जस्तो चिनीको हाहाकार नभएको बताए । साथै चिनी ल्याउने प्रक्रिया समेत अघि बढेको महानिर्देशक सुवेदीले बताए ।





























प्रतिक्रिया