अब चालकले ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउँछन् -मन्त्री श्रेष्ठ

अब चालकले ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउँछन् -मन्त्री श्रेष्ठ


उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताएका छन् । 

सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा ट्रायल दिएको ३ दिनमा लाइसेन्स पाउने बताएका हुन् । उनले सरकारले नयाँ प्रिन्टिङ मेसिन खरिद गरेर लाइसेन्स वितरणलाई प्रभावकारी बनाउन लागेको बताए । 

उनले हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताए । उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडी बढाइने जानकारी दिए । 

मन्त्री श्रेष्ठले मन्त्रालयले सोझै खरिद गर्न सार्वजनिक खरिद ऐनले रोक्ने भएपछि टेन्डरमा जानुपरेको दाबी गरे । उनले प्रधानमन्त्रीसँग पनि सल्लाह गरेरै मेसिन खरिदको प्रक्रिया अगाडी बढाइएको बताए । अर्थले बजेट निकासा गरेपछि थप काम अगाडी बढ्ने उनले बताए ।  

त्यस्तै भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्रै तयार हुने मन्त्री श्रेष्ठले बताए । उनले अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको बताए । 

Logo