विकास बैंकहरुमा लागू भयो गोएएमएल, वित्त कम्पनीमा अझै एक महिना लाग्ने

विकास बैंकहरुमा लागू भयो गोएएमएल, वित्त कम्पनीमा अझै एक महिना लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चालु आर्थिक वर्षदेखि विकास बैंकहरुमा गोएएमएल सफ्टवेयर लागू भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा गोएएमएल लागू गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले त्यसको कार्यान्वयन गरेका हुन् ।

साउन १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीले गोएएमएल सफ्टवेयर राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो । तर कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण चैत ११ देखि लकडाउन भएकाले सो सफ्टवेयर राख्न केही समस्या परेको थियो । तर समस्या भएपनि राष्ट्र बैंकले समय नथपेका कारण लागू गरिएको विकास बैंकर्स संघका अध्यक्ष गोविन्द ढकालले बताए ।

तर वित्त कम्पनीले भने आगामी भदौ पहिलो सातादेखि राख्ने भएको छ । लकडाउनका कारण गोएएमएल सफ्टवेयर अपडेट गर्न समय लाग्ने भएकाले पनि तत्काल राख्न नसकिएको नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । ‘गोएएमएल सफ्टवेर राखेपछि अरू कसैको खातामा रकम जम्मा गर्दा तीनपुस्ते खुलाउनु पर्छ, उनले भनेका छन् । गोएएमएल सफ्टवेयर राख्ने काम भइरहेको र एक महिना भित्र त्यस्तो काम सकिने अध्यक्ष तुलाधरले बताए । वाणिज्य बैंकमा भने गोएएमएल सफ्टवेर राखिसकिएको छ ।

वाणिज्य बैंकमा गत माघ १ देखि यस्तो सफ्टवेयर लागु भएको थियो । अरूको खातामा पैसा जम्मा गर्ने व्यक्तिले पनि तीनपुस्ते विवरण भर्नुपर्छ । वाणिज्य बैंकले काउन्टरमा कर्मचारी बढी राखेका छन् र त्यही अनुसार अद्यावधिक गरिरहेका छन् ।

के हो गोएमएल सफ्टवेयर ?

गोएमएल वित्तीय क्षेत्रका लागि तयार पारिएको अन्तर्राष्ट्रिय स्तरको सम्पत्ति शुद्धिकरण सम्बन्धी एक प्रकारको सफ्टवेयर हो । यो प्रणाली प्रायः जसो सबै देशहरुको बैंकिङ क्षेत्रमा लागू गरिएको छ । नेपालमा पनि निकै लामो समयदेखि यो प्रणाली लागू गर्न राष्ट्र बैंकले तयारी गर्दै आएको थियो । नेपालमा दुई वर्ष अगाडिबाटै राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा गोएएमएल प्रणाली लागू गर्ने तयारी गरेको थियो । बैंकिङ क्षेत्रलाई पारदर्शी बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यो लागू भएसँगै नेपालको बैंकिङ प्रणाली अन्तर्राष्ट्रिय स्तरको हुनुका साथै वित्तीय पारदर्शीता बढेर बैंकिङ जोखिम र अपराधिक घटना न्यून हुने राष्ट्र बैंकले जनाएको छ ।

कस्ता व्यवस्था छन् गोएमएलमा ?

बैंक तथा सिवत्तीय संस्थाहरुले यो सफ्टवेयर राखेपछि अरू कसैको खातामा रकम जम्मा गर्दा आफ्नो तीनपुस्ते विवरण भर्नु पर्ने व्यवस्था छ । त्यस्तै, बैंकका कर्मचारीले पनि त्यही अनुसार विवरण राख्नु पर्ने भएकोले स्वभाविक रुपमा बढी समय लाग्छ । यो प्रणाली लागू भएपछि बैंकमा जाँदा सामान्य अवस्थामा भन्दा बढी समय लाग्छ । आफ्नै खातामा नगद जम्मा गर्ने वा खाताबाट पैसा झिक्नेले पनि समय छुट्टयाउनु पर्ने हुन्छ, किनकि अरू कसैको खातामा रकम जम्मा गर्नेको व्यक्तिको काम नसकी तपाईको बैंकले गर्दैनन् । यसले गर्दा आफ्नै खातामा रकम राख्ने वा झिक्नेलाई समेत ढिलो हुन्छ । बैंकमा तीन पुस्ते खुलाउँदा आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र अर्थात् नागरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचयपत्र वा पासपोर्ट मध्ये कुनै एक आफ्नो साथमा लैजानुपर्छ ।

माघ १ भित्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को नियम अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गोएएमएल सफ्टवेर राख्न निर्देशन थियो । त्यो सफ्टवेयर सवै वाणिज्य बैंकले राखिसकेका छन् ।

यो प्रणाली लागू नगर्दा कस्तो कारवाही हुन्छ ?

नेपालको वित्तीय क्षेत्रमा वित्तीय अपराधका घटनालाई न्युनिकरण गर्न राष्ट्र बैंकले गोएएमएल सिस्टम लागू गरेको हो । यदि यस्तो प्रणाली लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ ।

Logo