काठमाडौं ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिनासम्म लगाएको लकडाउन अन्त्य भएको छ । सरकारले गत जेठ २८ गतेदेखि करिव एक महिना लकडाउनलाई खुकुलो बनाएर आजदेखि लकडाउन हटेको हो । अहिले सार्वजनिक सवारीसाधन पनि सञ्चालनदेखि अन्य सम्पूर्ण बजार खुल्ला रहेका छन् ।
कोरोनाको प्रभावसँगै लकडाउनले सबै क्षेत्र करिव तीन महिना बन्द हुँदा धेरै आर्थिक क्षति भएको छ भने कतिपय व्यवसाय नै धरापमा परेका छन् । सलुन व्यवसायीहरु पनि लकडाउनको प्रत्यक्ष मारमा परेका छन् । सरकारले सलुनहरु अझै पनि बन्द राख्न निर्देशन गरेको छ ।
अनामनगरमा सलुन सञ्चालन गर्दै आएका सत्यनारायन ठाकुर लकडाउनले व्यवसायलाई चौपट बनाएको बताउँछन् । उनले तीन महिनासम्म अति कष्टकर रुपमा दैनिक जीवन चलाउनु परेको अनुभव सुनाए ।
सरकारले राहत दिएको समाचारमा सुने पनि आफूले कहिँकतैबाट राहत नपाएको उनको गुनासो छ । लकडाउन हुनु भन्दा अघि उनले दैनिक २० देखि २५ जनाको कपाल काट्थे तर अहिले एक दुई जना पनि नआउने उनी बताउँछन् ।
सरकारले सलुन व्यवसायलाई पनि राहतको व्यवस्था गर्नुपर्ने उनको माग छ । सलुनको काम जोखिमपूर्ण रहेकाले पनि थप सुरक्षा अपनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै, २६ वर्षदेखि ललितपुरको कुपण्डोलमा मुना सलुन एण्ड फेसवास व्यवसाय गर्दै आएका मुना ठाकुरको पनि त्यस्तै गुनासो छ । लकडाउनले गर्दा भारतमा भन्दा नेपालमा नै सुरक्षित हुने देखिएर नेपालमा नै बसेको उनको भनाइ छ ।
पछिल्लो समय व्यवसाय संचालनमा आए पनि पहिलेको जस्तो ग्राहक आउन छोडेको उनले बताए । उनले अहिले सलुनमा सुरक्षाका सम्पूर्ण सामग्रीसहित काम सुरु गरेका छन् ।
ठूलो लगानी नचाहिने, आम्दानी राम्रो हुने यो पेशाप्रति सबैभन्दा बढी भारतीय र नेपालको तराईका युवाहरु मात्रै रहेका छन् । मुनाले तीन जनालाई रोजगारी दिएका छन् । अहिले सलुनहरुले एक जनाको कपाल काटेको एक सय देखि २ सय ५० रुपैंयाँसम्म लिने गरेका छन् । भिडियोमा :





























प्रतिक्रिया