नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ सिट्रोन सी ३ एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमका बीच उक्त एसयूभी सार्वजनिक गरेको हो ।
३४ लाख ४९ हजार रुपैयाँ सुरुवाती मूल्यका साथ उक्त गाडी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । भारतमा निर्मित सिट्रोन सी३ एक कम्प्याक्ट एसयूभी हो जसले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको मन तान्न सक्छ । अत्यन्त आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी३, ख्याती प्राप्त वर्ल्ड अर्बन कार २०२३ अवार्ड पाउन सफल भएको थियो ।
विश्वका ३२ देशहरुका १०० भन्दा बढी अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरुले मत राख्ने उक्त प्रतिस्पर्धामा जित्न सफल सिट्रोन सी३ ले नेपाली बजारमा पनि राम्रो गर्ने आशा कम्पनीले गरेको छ ।

“हामी नेपालका हाम्रा ग्राहकहरूलाई नयाँ सिट्रोन सी३ प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं । हरेक क्षेत्रको प्रयोगका लागि सोही क्षेत्रमा उत्पादन गर्नुपर्छ भन्ने मान्यता राख्ने स्टेलान्टिस आसियान क्षेत्रको लागि नयाँ सी३ भारतमा बनाएको छ । यस उत्पादन मार्फत हामी यो ठाउँ र परिवेश अनुरुपको उत्पादन मार्फत आसियानमा आफ्नो उपस्थिति बढाउन प्रतिबद्ध छौं” नादिया कमरुदिन, स्टेलान्टिसका लागि आसियानका ग्राहक अनुभव निर्देशक तथा जेनेरल डिस्ट्रिव्यूटरले भनिन् ।
नयाँ सिट्रोन सी३ १.२ पी लाइभ र पी फिल भाइब प्याक गरी २ भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ३४ लाख ४९ हजार र ३६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । उक्त गाडी बिर्तामोड, इटहरी, नारायणघाट, बुटवल र काठमाडौँ गरी नेपालका पाँच प्रमुख सहरहरूमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभ र बिक्रीको लागि उपलब्ध छ ।
उक्त गाडीमा ट्रपिकलाइज्ड एयर कन्डिसनर, मनोरम बाहिरी दृश्य हेर्न मिल्ने आरामदायी भित्री भाग र वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधाहरू छन् । यसमा न्याचुरल्ली एस्पिरेटेड १.२ लिटर पेट्रोल इन्जिन छ जसले ८१ बीएचपी पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ । सी३ मा ५–स्पीड म्यानुअल ट्रान्समिसन गियरबक्स पाइन्छ ।

ग्राहकहरूको सहजता र खरिद पश्चातको मानसिक शान्तिको लागि सिट्रोनले सी३ मा वारेन्टी कार्यक्रम पनि राखेको बताएको छ । यो वारेन्टी कार्यक्रमले दुई वर्ष अथवा ४० हजार किलोमिटरको दुरीसम्म सवारी साधनको हेरचाह र स्पेयर पार्ट्सलाई समेट्छ। ग्राहकले काठमाडौंको सितापाइलास्थित सिट्रोनको सेवा केन्द्रबाट गुणस्तरीय सेवा र मर्मतसम्भारको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया