मुलुकको आर्थिक अवस्थामा सुधारः शोधनान्तर स्थितिमा उल्लेख्य वृद्धि, रेमिट्यान्स पनि बढ्यो

मुलुकको आर्थिक अवस्थामा सुधारः शोधनान्तर स्थितिमा उल्लेख्य वृद्धि, रेमिट्यान्स पनि बढ्यो

केन्द्रबिन्दु
0
Shares

रेमिट्यान्समा वृद्धि र वैदेशिक व्यापार घाटामा आएको कमीका कारण शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्ममा रेमिट्यान्स २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । वैदेशिक व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ । त्यसको फलस्वारुप शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा छ । यस्तै २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भइ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ । विदेशी मुद्राको सञ्चितिले ९.४ महिनाको आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

शोधनान्तर घाटा चुलिँदै गर्दा विदेशी मुद्रा सञ्चितिमा चर्को दबाव परेपछि २०७८ पुसदेखि राष्ट्र बैंकले आयात नियन्त्रण गर्यो । राष्ट्र बैंकले आयात नियन्त्रण गर्न विदेशबाट सामान आयात गर्न एलसीमा नगद मार्जिन, आयात कर्जाको जोखिम भार वृद्धि गर्ने नीति ल्यायो । यस्तो नीतिले पनि आयात नियन्त्रण नभई बाह्य क्षेत्रमा दबाव बढ्दै गएपछि २०७९ वैशाखमा नेपाल सरकारले केही विलासी वस्तुको आयातमा रोक लगाएको थियो । त्यसपछि बाह क्षेत्रमा सुधार आए पनि आन्तरिक क्षेत्रमा भने नकारात्मक प्रभाव परेको छ । 

नेपालको राजस्व प्रणाली आयातमा निर्भर भएकाले बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक क्षेत्रको सरकारी वित्त स्थिति भने दबाबमा देखिएको छ । सरकारको चालु खर्चलाई रावस्व संकलनले धान्ने स्थिति छैन । बाह क्षेत्र सुधार भए पनि यसले आन्तरिक क्षेत्रको दबाबलाई कम नगर्ने हुँदा अव आउने दिनहरुमा आन्तरिक क्षेत्र सुधार गर्ने नीति ल्याउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्समा वृद्धि 
चालु आर्थिक वर्षको चैत महिनासम्म रेमिट्यान्स २४.२ प्रतिशतले बढेर ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा रेमिट्यान्स ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ मात्र भित्रिएको थियो । 

रेमिट्यान्स बढ्नुले वैदेशिक रोजगारमा जानेको संख्यामा पनि वृद्धि भएको पुष्टि गर्छ । चैत महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ५१.५ प्रतिशतले बढेर ३ लाख ८७ हजार ८ सय ३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ५९ पुगेको छ । 

शोधनान्तर स्थिति बचतमा
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा घाटामा रहेको शोधनान्तर स्थिति असोज महिनायता निरन्तर बचतमा रहेको छ । यस आवको चैत महिनासम्म शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो । 

यस्तै, गत आवको चैत महिनासम्म ५ खर्ब १० अर्ब ५८ करोड रुपैयाँले घाटामा रहेको चालु खाता चालु आवको सोही अवधिमा ५१ अर्ब ८२ करोड रुपैयाँले मात्रै घाटामा छ । वैदेशिक व्यापार घाटा १७.१ प्रतिशतले घटेको र रेमिट्यान्स आप्रवाहमा २४.२ प्रतिशतले वृद्धि हुँदा त्यसको प्रभाव शोधनान्तर स्थिति र चालु खातामा देखिएको हो ।

बढ्यो महँगी
चैत महिनामा उपभोक्ता मूल्यवृद्धि ७.७६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा ७.२८ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको चैत महिनासम्ममा खाद्य तथा पेय पदार्थको मुल्यवृद्धि ६.९३ प्रतिशत छ भने गैर–खाद्य र सेवा समूहको मुल्यवृद्धि ८.४२ प्रतिशत छ ।  गत वर्ष यही अवधिमा खाद्य तथा पेय पदार्थको मुल्यवृद्धि ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुल्यवृद्धि ७.१८ प्रतिशत थियो । 

चैत महिनासम्म खाद्य तथा पेय पदार्थअन्तर्गत रेष्टुरेण्ट तथा होटलको १४.६८ प्रतिशत, मरमसलाको १४.६७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.७२ प्रतिशत, फलफूलको ११.०० प्रतिशत र सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशतले मुल्यवृद्धि भएको छ । यस्तै, गैर–खाद्य तथा सेवाअन्तर्गत स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.५४ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७४ प्रतिशत र शिक्षाको ८.६७ प्रतिशतले मुल्यवृद्धि भएको छ । 

राष्ट्र बैंकका अनुसार चैत महिनासम्म काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशतले मुल्यवृद्धि भएको छ । गत वर्षको यसै अवधिमा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, , तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशतले मुल्यवृद्धि भएको थियो ।  

उपभोक्ता मूल्यवृद्धिमा चाप भएपनि थोक मुद्रास्फीति भने कम रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको चैत महिनासम्म १४.४२ प्रतिशत रहेको थोक मुद्रास्फीति चालु आवको सोही अवधिमा घटेर ५.५९ प्रतिशतमा झरेको छ ।

Skip This
Skip This
Logo