विराटनगर ।
प्रदेश नं. १ सरकारले स्थापना गरेको कोभिड–१९ जनसुरक्षा कोषमा सूर्य नेपाल प्रालिले आज एक करोडको चेक प्रदान गरेको छ ।
मुख्यमन्त्री शेरधन राईलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले मुख्यमन्त्रीको कार्यालयमा एक करोडको चेक हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशका जनताको स्वास्थ्य सुरक्षाप्रति सरकार सचेत रहेकाले सङ्क्रमितहरुको समुचित उपचारको व्यवस्था गरिएको विचार व्यक्त गरे ।
उनले सहयोगका लागि धन्यवाद दिँदै जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र कोभिड–१९ टेष्टलाई प्राथमिकता दिँदै सीमा सुरक्षा व्यवस्थित गरिएका कारण प्रदेशमा सङ्क्रमितको सङ्ख्यामा कमी आएको जानकारी दिए।
सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरिएको बताउँदै आगामी दिन आवश्यकता अनुसार थप सहयोग गर्ने विचार व्यक्त गरे ।
सूर्य नेपालले बाराको सिमरा, तनहुँको सेराटार र मोरङको विराटनगरस्थित उद्योगबाट विश्वस्तरीय गुणस्तरीय उत्पादन नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।रासस





























प्रतिक्रिया