काठमाडौं ।
साना व्यवसायीलाई आय विवरण र कर तिर्न सहजीकरण गर्ने उद्देश्यले सरकारले विहिबारदेखि बैंकमार्फत कर र आय विवरण एकैसाथ बुझाउन सकिने प्रणालीको शुभारम्भ गरेको छ ।
साना करदाताले कर र आय विवरण बुझाउन राजश्वभन्दा बढी रकम र समय खर्च गर्नुपरेको अवस्थालाई अन्त्य गर्न सरकारले उक्त व्यवस्था गरेको हो ।
आन्तरिक राजश्व विभागमा विहिबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयबाटै ‘भर्चुअल’ प्रविधिमार्फत सो प्रणालीको शुभारम्भ गरे । साना व्यवसायीले बैंकमार्फत कर र आय विवरण बुझाएपछि तत्कालै करचुक्ता प्रमाणपत्र लिन सकिने व्यवस्था मिलाइएको छ ।
विभागका निर्देशक महाराज कोइरालाले साना करदाताले अब १० मिनेटभित्रै आय विवरण र कर बुझाएर करचुक्ता प्रमाणपत्र लिन सक्ने जानकारी बताए । “अब साना करदाताले घरमै बसेर आय विवरण र कर बुझाउन सक्नेछन्, यसबाट साना करदातालाई निकै फाइदा भएको छ”, उनले भने। यसअघि साना करदाताले आय विवरण बुझाउन आफू दर्ता रहेकै आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय धाउनु पर्ने अवस्था थियो ।
मुलुकको सबै भूभागमा कर कार्यालय वा करदाता सेवा कार्यालय नहुँदा साना करदाता सरकारलाई तिर्नु पर्ने करभन्दा बढी रकम र समय खर्चेर कर बुझाउन जानुपर्ने बाध्यतामा थिए । कर तिर्न कठिनाइ हुँदा कतिपय साना व्यवसायी करको दायरमा समेटिन सकेका थिएनन् । सरकारले चालु आर्थिक वर्षको बजेटको बजेटको बुँदा नं ३३३ मा वार्षिक रु २० लाखसम्म कारोबार गर्ने साना करदाताले आय विवरण र कर मोबाइल एप्स लगायत अन्य विद्युतीय माध्यमबाट बुझाउन सक्ने व्यवस्था मिलाइने घोषणा गरिएको थियो । बक्यौता नहरेका करदाताले पेश गरेको आय विवरण अनुसारको कर चुक्ता प्रमाणपत्र स्वचालित प्रणालीबाट करदाता स्वयंले लिन पाउने व्यवस्था गर्ने विषयलाई बजेटमा समावेश गरिएको थियो ।
विभागका महानिर्देशक विनोदबहादुर कुँवरले कर प्रणालीमा सुधार गरिएसँगै यसबाट झण्डै पाँच लाखको हाराहारीमा रहेका साना व्यवसायी लाभाविन्त हुने जानकारी दिए । विभागले वार्षिक रु २० लाखसम्म कारोबार र दुई लाखसम्म आय भएका व्यक्तिले आयकर ऐन, २०५८ अनुसार आय विवरण तथा कर भुक्तानी बैंकमार्फत गर्न सकिने व्यवस्था गरेको हो ।
कर कसरी बुझाउने ?
विभागको राजश्व बुझ्ने बैंकको कर्मचारीले राजश्व व्यवस्थापन सूचना प्रणाली लगइन गरी युजरनेम र पासवर्ड तथा आर्थिक वर्ष राखी प्रणालीमा प्रवेश गर्न सकिने छ । डि०१ भौचर फारम भन्ने मेनुमा प्रवेश गरेपछि डि०१ फारममा करदाता वा निजको प्रतिनिधिले पेश गरेको डे०१ आय विवरण र कर दाखिला फारम प्रविष्टि गरी कर सङ्कलन गर्नुपर्ने विभागले जनाएको छ ।
डे ०१ आय विवरण तथा र दाखिला फारममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम करदाताको नाम र दस्तखत वा करदाताको प्रतिनिधि भए निजको नाम र दस्तखत र करदाताको मोबाइल नम्बर अनिवार्यरुमा उल्लेख गर्नुपर्नेछ । करदाताको स्थायी लेखा नम्बर प्रविष्टि गरेपछि प्रणालीले फारमको नाम र ठेगाना, करदाता दर्ता रहेको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालय, बैंक शाखा मिति स्वचालित रुपमा देखिनेछ ।
आय वर्षमा क्लिक गरेपछि सो मितिसम्म करदाताले कुनकुन आय वर्षको आय विवरण पेश गर्न बाँकी रहेको छ भन्ने विवरण देखाउँछ । करदाताले जुन आय वर्षको आय विवरण र कर दाखिला गर्ने हो सो वर्ष उल्लेख गरी डे०१ आय विवरण तथा कर दाखिला फाराममा उल्लेख भए बमोजिमका विवरण प्रविष्टि गर्नुपर्नेछ । एक आय वर्षमा वार्षिक रु २० लाखभन्दा बढी कारोबार भएमा वा वार्षिक रु २० लाखभन्दा कम कारोबार भएता पनि रु दुई लाखभन्दा बढी आय भएमा त्यस्ता प्रोपराइटरसीप व्यवसाय वा फर्मले यो आय विवरण पेश गर्न नपाउने हुँदा कारोबार रकममा रु २० लाखभन्दा बढी प्रविष्टि गरेमा प्रणालीले गलत देखाउनेछ ।
कारोबार रकमभन्दा कट्टी हुने रकम कम भएको खण्डमा मात्र करदाताको रकम कायम हुन्छ । कारोबार रकमभन्दा कट्टी हुने रकम घटाउँदा आय रकम दुई लाखभन्दा बढी हुने भएमा विवरण दाखिला गर्न सकिने छैन । एकै पटकमा एक वा एकभन्दा बढी आय वर्षको आय विवरण तथा कर भुक्तानी गर्न सक्ने गरी प्रणालीको विकास गरिएको विभागले जनाएको छ ।रासस





























प्रतिक्रिया