आज पनि नेपाल आए सलहका झुण्ड

आज पनि नेपाल आए सलहका झुण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सलहको झुण्ड आज पनि पश्चिम नेपालको विभिन्न जिल्लाबाट प्रवेश गरेको छ । कृषि मन्त्रालयको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको पश्चिम क्षेत्रमा रहेको सलहको केही झुण्ड हावाले उडाएर नेपाल छिरेको हो ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले आज बिहान नेपालगञ्ज र बाँकेबाट चारदेखि पाँच लाखको सलहको झुण्ड नेपाल छिरेको बताए। यस्तै आजै कञ्चनपुरबाट समेत केही झुण्ड प्रवेश गरेको छ। असार २८ गते दाङबाट प्रवेश गरेको झुण्डले प्यूठानमा केही क्षति गरी तल्लो क्षेत्रमा गएको छ।

मौसम विज्ञान विभागका अनुसार हावाको दिशा साउन २ गते दक्षिण पूर्वी र पूर्वबाट आउने छ । त्यस्तै ३ गते पनि सोही दिशाबाट हावा आउने छ । हावाको दिशा नेपालमा उत्तर–पश्चिम भएर जाने भएकाले पश्चिम क्षेत्रमा रहेको सलह प्रवेश गर्ने सम्भावना कम रहेको जनाइएको छ ।

यद्यपि भारतको पश्चिमी सिमानामा रहेको झुण्डबाट फुटेर केही विखण्डित समूह आउन सक्ने सम्भावना भने कायमै छ । सलहको झुण्ड पनि अहिले पश्चिम क्षेत्रमा छ। जमिनको सतहभन्दा एक हजार मिटरमाथि र समुन्द्र सतहभन्दा एक हजार ५०० मिटर माथिबाट हावा बहने जनाएको छ ।

गत असार १३ गते नेपाल प्रवेश गरेको सलहले विभिन्न क्षेत्रमा लगाएको बालीमा केही क्षति पुर्याएको छ । त्यो बेला सबैभन्दा बढी ८० देखि ९० लाख सलह प्रवेश गरेको अनुमान छ ।

किसानको सक्रियता र मौसम प्रतिकूल हुँदा ठूलो क्षति पुर्याउन भने नसकेको कीटविज्ञले बताएका छन् । अहिले पनि ठाउँठाउँमा सलहले आफ्नो उपस्थिति देखाइरहेको छ । धेरै सलह जङ्गलमा बसेको छ ।रासस

Logo