काठमाडौं ।
औषधि र औषधिजन्य वस्तुको आयातलाई प्रोत्साहन गर्ने गरि गरिएको निर्णय फिर्ता लिन माग गर्दै नेपाल औषधि उत्पादक संघको आन्दोलन जारी रहेको छ ।
स्वदेशी उद्योगलाई मात्र भार पर्ने गरी कच्चा पदार्थको आयात सिफारिसमा असामान्य रुपमा १२ गुणा वृद्धि गरी विदेश आयातलाई प्रोत्साहन गर्न गरिएको निर्णय फिर्ता लिन माग व्यवसायीहरुको छ । असार २९ गतेबाट विभिन्न माग राख्दै धर्नामा बसेका व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेका छन् । स्यानीटाइजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर भएको अवस्थामा पनि बिना दर्ता र गुणस्तर परीक्षण विक्रि गर्न दिने निर्णय फिर्ता लिन संघले माग गरेको छ ।
विभिन्न ३० वटा उत्पादनको कच्चापदार्थ मात्रै आयात गर्ने गरी निर्णय भएपनि त्यसको कार्यान्वयन नभएको संघका महासचिव विप्लव अधिकारीले बताए । प्रविधिजन्य स्वास्थ्य सामग्री र उपकरण सम्बन्धि निर्देशिका ०७४ अनुसार औषधि व्यवस्था विभागले नियमन गर्ने गरी निर्णय भए पनि मास्क, निसंक्रमक, पीपीई, भिटियम लगायतका वस्तु नेपालमै उत्पादन हुन सक्ने तर प्रोत्साहन नगरिएको उनले बताए । अन्य देशहरुले कठिन समयमा औषधि निकासी रोक्न सक्ने तर नेपाल सरकारले आत्मनिर्भर भइसकेको औषधिको आयात समेत रोक्न नसक्ने, नेपालमा सजिलै बन्न सक्ने र माग अनुसार आपूर्ति गर्न सकिने औषधिको विकास तर्फ सरकारले ध्यान नदिएको उनले बताए ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको नीति र नियतमा खोट रहेको बताए । सरकारको नीति विरुद्धको लडाई सित्तैमा रोक्न नहुने उनले बताए । विगत वर्षहरुमा सरकारले झुठा आश्वासन दिएर फकाउँदै आएको भए पनि अब त्यस्तो हुन नहुने बताए ।
औषधि उत्पादक संघले स्वदेशी उद्योगको जीएमपी प्रमाणिकरणका लागि निरीक्षण पश्चात पनि महिनौसम्म कुर्नु पर्ने तर विदेशी उद्योगको हकमा हप्तादिनमा दर्जनौ उद्योगको निरीक्षण गरी प्रमाणिकरण गरिएकाले पनि स्वदेशी उद्योग निरुत्साहित भएको प्रमाणित हुने बताएको छ । देशलाई औषधिमा आत्मनिर्भर बनाउन स्वदेशी उद्योगलाई प्रोत्साहन गरी विकास गर्न संघको आग्रह छ ।





























प्रतिक्रिया