भारतीय कम्पनीलाई अध्यक्ष ढकालकाे आग्रहः नेपालमा लगानी गर्ने उपयुक्त समय छ, लगानी गर्नुस्

भारतीय कम्पनीलाई अध्यक्ष ढकालकाे आग्रहः नेपालमा लगानी गर्ने उपयुक्त समय छ, लगानी गर्नुस्


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी मैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको ‘नेपाल–भारत बिजनेस समिट’लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्ताे बताएका हुन् ।  उनले नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त पेश गर्दै यो सफलताको उदाहरण नै नेपालमा लगानी गर्न प्रयाप्त आधार रहेको बताए । 

अध्यक्ष ढकालले नेपालका उर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए । उनले नेपाल उद्योग वाणिज्य महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र नेपालको निजी क्षेत्रले साझेदारी समेत गर्न सक्ने बताए । 

साे क्रममा भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर ट्याप गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठुलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए । 

साेही कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका थिए । 

 

Logo