नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रबाट सञ्चालन हुने उद्योग, व्यवसाय वा अन्य विकासका पूर्वाधारमा राज्यका सबै अंगबाट अपनत्व लिई सहजीकरण तथा उत्प्रेरणा प्रदान गर्न सकेमा छोटो समयमै विकास र सम्मृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन् ।
शुक्रबार वीरगञ्जमा आयोजित औद्योगिक प्रवद्र्धन कार्यक्रम तथा मधेश सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राज्य तथा यसका हरेक निकायबाट निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुपर्ने समेत बताए ।
छोटो समयमा दक्षिण पूर्वी एशियाली मुलुक मेलेशियाले हासिल गरेको विकास र सम्मृद्धिको उदाहरण दिँदै उनले भने, “निजी क्षेत्रले अगाडि बढाउने हरेक आयोजनामा तीन वटै तहका सरकार तथा राज्यका अन्य निकायबाट हुने सहजीकरणले निजी क्षेत्रलाई थप लगानी गर्न, थप रोजगारी सृजना गर्न र थप राजश्व बुझाउन मद्दत पुग्ने हो । विकास र सम्मृद्धि हासिल हुने हो ।”
उनले थपे, “सरकारले निजी क्षेत्रले सञ्चालन गर्ने उद्योग वा कुनै पनि पूर्वाधार आयोजनालाई हाम्रो पार्टनरसिपको आयोजना हो भन्ने गरी सहयोग र सहजीकरण गर्नुप-यो । राज्यले निजी क्षेत्रलाई पार्टनरको रुपमा लिनुप-यो । त्यस्ता आयोजना हामी सबैका साझा सम्पत्ति हुन् भनेर सबै निकायबाट अपनत्व लिनुप-यो ।”
तर, नेपालमा क्याबिनेटबाट भएका निर्णयहरु समेत कार्यान्वयन हुन नसकेको अवस्था छ । त्यसले केन्द्रदेखि स्थानीयतहसम्मको प्रकृयालाई सरलीकरण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष ढकालले बताए ।
मधेश प्रदेशमा रहेका सम्भावित आयोजनाको पहिचान गर्न स्थानीय सरकार तथा व्यवसायीहरुलाई आग्रह गर्दै ढकालले त्यस्ता आयोजनामा पुँजी र प्रविधिको लागि निजी क्षेत्रको तर्फबाट तथा व्यक्तिगत तर्फबाट आफूले पहलकदमी लिने बताए । “स्थानीयतह तथा यहाँका व्यवसायी साथीहरुले यस प्रदेशमा रहेका व्यवसायिक सम्भावना भएका आयोजनाहरुको पहिचान गर्नुहोस् । त्यस आयोजनालाई अगाडि बढाउन आवश्यक पर्ने पुँजी र प्रविधि जुटाउने र त्यसलाई निर्माण गरी सञ्चालन गर्न निजी क्षेत्रको तर्फबाट म तयार छु,” उनले भने ।
नेपालको पर्यटन क्षेत्रको समग्र विकासका लागि केबलकार धार्मिक पर्यटन सर्किट निर्माण गर्न सकिने बताउँदै अध्यक्ष ढकालले यसले पूर्वदेखि पश्चिमसम्म नै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । पर्यटन क्षेत्रले पर्यटक र विदेशी मुद्रा भित्र्याउने मात्र नभई विभिन्न क्षेत्रसँग जोडिएका सानादेखि ठूलासम्म अनेकन व्यवसायलाई सहयोग पुग्ने हुँदा पर्यटन क्षेत्रको पवद्र्धनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले अहिलेको पर्यटक बसाई र उनीहरुको दैनिक खर्चलाई दोब्बर गर्न नयाँ नयाँ पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
पछिल्लो समय नेपाल–भारत सिमा क्षेत्रदेखि नजिक रहेका नेपालका हिल स्टेसनहरु भारतीय पर्यटकहरुको रोजाइका नयाँ गन्तब्य बन्ने गरेको बताउँदै अध्यक्ष ढकालले ती हिल स्टेसनहरुको प्रवद्र्धनमा विशेष कार्यक्रम बनाउन तीनवटै सरकारलाई आग्रह गरे ।





























प्रतिक्रिया