‘मौद्रिक नीतिमार्फत् सबै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउँछौँ’–गभर्नर अधिकारी

‘मौद्रिक नीतिमार्फत् सबै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउँछौँ’–गभर्नर अधिकारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ७ सय ५३ वटै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने बताएका छन् ।

गभर्नर अधिकारीले सोमबार अर्थसमितिको छलफलमा यस्तो बताएका हुन् । उनले कोरोनाका कारण अर्थतन्त्र संकटमा परेको भन्दै त्यसलाई उकास्न सबै पालिकालाई पुनर्कर्जा उपलब्ध गराउने गरी राष्ट्र बैंक तयारीमा जुटेको बताए । स्थानीय तहलाई पुनर्कर्जा उपलब्ध गराउँदा रोजगारीको अवसरमा वृद्धि हुनुका साथै स्थानीय स्तरमै स्वरोजगार तथा आर्थिक गतिविधि बढ्ने गभर्नर अधिकारीले बताए । त्यस्तै, अधिकारीले विगतमा उपलब्ध गराइएको पुनर्कर्जा मध्ये ७ अर्ब रुपैयाँ ३७ जनाले मात्रै पाएको भन्दै अब त्यस्तो हुन नदिने बताए ।

कोरोनाका कारण कयौँ युवाहरु रोजगारी गुमेका कारण बेरोजगार भएका छन् । जसका कारण सरकारले बजेटमार्फत नयाँ रोजगारी सृजना गर्ने योजना अघि सारेको छ । राष्ट्र बैंकले बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याउने भएकाले रोजगारी सृजना गर्ने गरी पुनर्कर्जालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने योजना बनाएको हो । पुनर्कर्जा कार्यान्वयन गर्न सके स्थानीय तहमा रोजगारी बढ्ने हुँदा राष्ट्र बैंक त्यसतर्फ केन्द्रीत भएको गभर्नर अधिकारीको भनाइ थियो । उनले कोरोनाको असर रहेसम्म पुनर्कर्जाको व्यवस्था रहने समेत जानकारी दिए ।

Logo