खारेज भयो ब्याजदरको भद्र सहमति, अब बैंकले निर्धारण गर्ने

खारेज भयो ब्याजदरको भद्र सहमति, अब बैंकले निर्धारण गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ब्याजदरमा नेपाल बैंकर्स संघले गरेको भद्र सहमति खारेज भएको छ । संघले दुई वर्षदेखि निक्षेपको ब्याजदरमा भद्र सहमति गर्दै आएको थियो ।

सोमबारबाट लागू हुने गरी संघले सो भद्र सहमति खारेज गर्दै ब्याजदर निर्धारण गर्ने जिम्मा बैंकहरुलाई नै छोडिदिएको छ । संघले संचालनमा रहेका २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुलाई डाकेर गरेको छलफलले यस्तो निर्णय गरेको हो । संघले साउन १ गतेबाट कार्यान्वयन हुने गरी यस्तो निर्णय गरेको हो ।

कोरोनाका कारण लगानी प्रभावित हुँदा बैंकमा लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । जसका कारण लागत धान्नै समस्या भएको भन्दै बैंकहरुले ब्याजदर घटाउन माग राख्दै आएका थिए । संघले मूल्यवृद्धिलाई ध्यानमा राख्दै ब्याज निर्धारण गर्ने जिम्मा बैंकलाई नै दिएको हो । अहिले बचतको ब्याजदर पाँच प्रतिशतको हाराहारीमा आएको छ । संघको निर्णयपछि ब्याजदर घटेर ४ प्रतिशतसम्म झर्नेछ । संघले गरेको पछिल्लो भद्र सहमति अनुसार संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत छ । सर्वसाधारण मुद्दतीको साढे ८ प्रतिशत तथा बचतको साढे ५ प्रतिशत छ ।

Logo