काठमाडौं ।
नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब ८६ करोड रुपैंयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले अझै नाफा बढ्न सक्ने अनुमान गरिएको छ । गतवर्ष निगमले ८ अर्ब ७५ करोड नाफा कमाएको थियो ।
तर निगमले पछिल्लो समय १० दिनभित्रै दुईपटक मूल्यवृद्धि गरेपछि विरोध भइरहेको छ । लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन नै ग¥यो । सरकारले महंगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए ।
निगमले पछिल्लो पटक गरेको मूल्यवृद्धिले निगमलाई आगामी १५ दिनमा २० करोड रुपैयाँ भन्दा बढी नाफा हुने देखिन्छ । निगमले भने पेट्रोलमा १६ पैसा नोक्सान तथा डिजेलमा १.५ रुपैयाँ नाफा राखेर मूल्यवृद्धि गरेको जनाएको छ ।
आयल निगमले १५ दिनअघि आइओसीबाट पेट्रोल ३८.३२ रुपैयाँ र डिजेल ४१.२९ रुपैयाँ प्रतिलिटरका दरले खरिद गरेको थियो । सोही खरिददरमा सरकारी कर तथा अन्य खर्चका शीर्षक जोडेर निगमले पेट्रोल १ सय २ र डिजेल तथा मट्टीतेल समान ८८ रुपैयाँ प्रतिलिटरमा बिक्री गर्ने निर्णय गरेको हो ।
निगमले भने पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्यवृद्धि भएको बताएको छ । निगमले अटो प्राईसिङ भन्दा व्यवहारिक रुपमा मूल्य समायोजन गर्दा ३ रुपैयाँ सस्तो भएको बताएको छ । हरेक १५ दिनमा समायोजन गर्नुपर्ने प्रकृया अनुसार अहिले पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ ५० पैसा, डिजेलको ९१ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य १४ सय ५ रुपैयाँ हुने भएपनि व्यवहारिक रुपमा समायोजन हुँदा पेट्रोल १ सय २, डिजेल ८८ र एलपी ग्यासको मूल्य १३ सय ७५ रहेको निगमले जनाएको छ ।
निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले १६ जुलाईमा अटो मेकानिजमले २ रुपैयाँ बढाउन भने पनि निगमले अटो प्राइसिङमा २ रुपैयाँ भन्दा बढी घटाउन नमिल्ने अवस्थामा पनि एकैपटक १० रुपैयाँ घटाएको बताए । चालु आर्थिक वर्षको सुरुमा १ सय ८ रुपैयाँ रहेको पेट्रोल वर्षको अन्तिमसम्म १ सय २ रुपैयाँमा सिमित रहेको पौडेलको भनाइ छ ।































प्रतिक्रिया