लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटकले गरे यात्रा, सबैभन्दा धेरै भारतीय

लुम्बिनी केबलकारमा एक महिनामा ३० हजार पर्यटकले गरे यात्रा, सबैभन्दा धेरै भारतीय

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारमा एक महिनामा करिब ३० हजार पर्यटकले यात्रा गरेका छन् ।

आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत लगानी रहेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको थियो भने जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए । 

एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरु समेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबलकार प्रालिले जनाएको छ । जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना रहेका छन् । 

केबलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशष्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ भने जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ । 

टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाउं र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका प्रालिले जनाएको छ । 

२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाईमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शितल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ ।  

टप स्टेशनमा एक अर्ब ५० करोड लागतमा १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पांचतारे होटेल बन्ने प्रकृयामा रहेको  लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । लुम्बिनी केबलकार सञ्चालनले बुटवल र पाल्पामा नयां पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने उनले बताए । 

त्यस्तै, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू लुम्बिनी केबलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपुर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बताउँछन् । 

केबलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए ।

नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबलकारको टिकट दर नेपालीका लागि ७५० रुपैया र भारतीयका लागि ७५० भारु रहेको छ । केबलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुई वटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाको दीर्घकालीनरुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउं गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

Skip This
Logo