उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन् ।
नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताएका हुन् । उनले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सत्रका रुपमा लिएर यसको आधारमा कामलाई अघि बढाएको बताए ।
“समृद्धिको कार्यभार पूरा गर्नका निम्ति हामीले हाम्रो देशको व्यापार घाटालाई कम गर्ने र त्यसका निम्ति आयात प्रतिस्थापन गरेर निर्याततर्फ काम गर्नुपर्छ ।” उनले भने।
पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामीले यथास्थितिमा बसिरहेर हुँदैन । विकासको काम गर्दै व्यापार घाटा कम गर्न भाषण गरेर समस्याको समाधान हुँदैन ।” भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै सुशासन कायम गर्नुपर्नेमा उनको जोड थियो ।
उनले भने, “यसमा अगाडि बढ्ने क्रममा पशुआहार निर्यातको प्रक्रिया सुरु गरेका छौँ । यो एउटा राम्रो अवसर हो ।” सरकारका तर्फबाट गर्नुपर्ने अन्य सहयोगका लागि सधैँ तयार रहेको उनको भनाइ थियो ।































प्रतिक्रिया