ऋणको किस्ता र ब्याज तिर्ने समय थप्ने तयारी गर्दै राष्ट्र बैंक

ऋणको किस्ता र ब्याज तिर्ने समय थप्ने तयारी गर्दै राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले ऋणको किस्ता र ब्याज तिर्ने समय थप गर्ने तयारी गरेको छ । कोरोनाका कारण उद्योग व्यवसाय, पर्यटन, रेमिट्यान्स सबै क्षेत्र प्रभावित भएका छन् । यीनै प्रभावित क्षेत्रका लागि राहत स्वरुप राष्ट्र बैंकले ऋणको किस्ता र ब्याज तिर्ने म्याद बढाउने तयारी गरेको हो । ‘ऋणै तिर्न नसक्नेहरुका लागि समय थप्नुपर्छ होला ।’ नियमन विभागका प्रमुख देवकुमार ढकालले भने । तर अहिलेसम्म समय थप्ने विषयमा भने छलफल नभएको उनले बताए ।

जेठ २८ गते खाद्यान्न लयायतका विभिन्न ४४ प्रकारका उद्योगहरु खोल्ने निर्णय गरे पनि लकडाउन जारी भएकाले अनुमति पाएका उद्योग व्यवसायहरु पनि पूर्ण रुपमा संचालन हुन सकेनन् । जसले गर्दा खोलिएका उद्योग व्यवसायहरुले पनि राम्रो उत्पादन तथा व्यापार गर्न पाएनन् । त्यसैकारण अहिले राष्ट्र बैंकले ऋणको किस्ता र ब्याज तिर्ने समय थप्ने तयारी गरेको हो । सक्ने र व्यवसाय चलेकाले भने ऋणको किस्ता र ब्याज तिर्दा आफूलाई पनि हल्का हुने र बैंकलाई पनि केही सहज हुने राष्ट्र बैंकको भनाइ छ । असार मसान्त नजिकिँदै छ । ऋणको किस्ता र ब्याज तिर्ने समय असार मसान्तसम्म हो । चैत मसान्तसम्म तिर्ने किस्ता र ब्याज तिर्ने समय सरेर असारमा पुगेको छ । व्यवसाय संचालन नभएकाले असारमा पनि तिर्न नसक्ने भन्दै व्यवसायीले समय थप्नु पर्ने माग गरिरहेका छन् ।

असार मसान्तसम्म तिर्न नसक्ने व्यवसायीको भनाइ

उद्योग व्यवसायीले कारोबार नै संचालन नभएको तथा आम्दानी नभएकाले असार मसान्तसम्म ऋणको किस्ता र ब्याज तिर्न नसक्ने बताएका छन् । गुल्मीका मालिका गाउँपालिकाका यातायात व्यवसायी खेमराज ज्ञवालीले बैंकले किस्ता र ब्याज अनिवार्य रुपमा असार मसान्तसम्म तिर्न दबाद दिएको बताए । हालै पोखराको ९९ यातायात व्यवसायीले बैंकले किस्ता तिर्न दबाद दिएको भन्दै चावी नै बैंकलाई बुझाएका छन् ।

कसले गरे पहल ?

नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ कमर्श तथा नेपाल अटो मोबाइल्स एसोसियशन (नाडा) लगायतका नीजि क्षेत्रका छाता संगठनहरुले ऋणको किस्ता तिर्न सरकार तथा नेपाल राष्ट्र बैंकसँग पहल गरिसकेका छन् । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले ऋणको किस्ता र ब्याज तिर्न असोजसम्म समय थप्ने अनुरोध गरेको बताए । कतिपय बैंकहरुले नमाने पनि कतिपय बैंकहरुले सहज रुपमा समय थप्न मानिरहेको अध्यक्ष दुलालको भनाइ छ ।

ऋणको किस्ता र ब्याजदर तिर्ने समय नथप्दा के असर पर्छ ?

उद्योगी व्यवसायीहरुले चैत देखिकै ऋणको किस्ता र ब्याज तिरेका छैनन् । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि उद्योग व्यवसाय, यातायात लगायतका विभिन्न क्षेत्र पूर्णरुपमा ठप्प थिए । यस्तो अवस्थामा व्यवसाय नभएपछि बैंकको ऋण तिर्न सक्ने कुरै भएन । कोरोना भाइरसले सबैभन्दा बढी क्षति पु¥याएको क्षेत्र भनेको पर्यटन तथा यातायात क्षेत्र हो । यस क्षेत्रका व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा समेत पुगेको व्यवसायीहरुको भनाइ छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष बिजयबहादुर स्वाँरले यातायात क्षेत्रलाई सरकारले राहत नदिए आत्महत्या गर्ने अवस्थामा पुग्ने बताए । त्यतिमात्रै होइन, यदि सरकारले ऋणको किस्ता र ब्याज तिर्ने समय नबढाए कयौं उद्योग व्यवसाय बन्द हुने, बेरोजगारी बढ्ने तथा रोगले भन्दा भोकले मर्ने अवस्था आउन सक्छ ।

Logo