अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले वर्ल्ड ट्रेड सेण्टर काठमाडौंको त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ को स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको हो ।
नाडा अटो एक्सपो २०२०, २०२१ र २०२२ कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको नाडाले जनाएको छ ।
प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थालगायतका विभिन्न सामग्रीहरू सहित कूल ८२ वटा स्टलहरू रहने छन् । साथै यसपटक विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरणसमेत राखिने बताइएको छ । प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।
सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफ्ना नयाँ मोडलका सवारी साधनहरुको बिक्रीका लागि विभिन्न छुट र सुविधासहितका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको नाडाले जनाएको छ ।
प्रतिक्रिया