चिरख्वा हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आइतबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
यता,आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ। स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा अब भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
चिरख्वा हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको छ। यसआधारमा १ सय अंकित मूल्यमा ४ लाख कित्ता सेयर स्थानीयलाई जारी भएको छ।
कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र भोजपुर जिल्लाको स्थानीय बासिन्दालाई निष्कासन गर्न गरेको हो। यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात ८० हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
यसमा स्थानीय समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
स्थानीयले यस आयोजनाको आयोजना स्थलमा रहेको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।





























प्रतिक्रिया