मैले हस्ताक्षर गरेको नोट फ्रेममा रहोस्, तर आर्थिक कारोवार भने डिजिटल गर्नुस्ः गभर्नर अधिकारी

मैले हस्ताक्षर गरेको नोट फ्रेममा रहोस्, तर आर्थिक कारोवार भने डिजिटल गर्नुस्ः गभर्नर अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन्।

आइतबार अर्थप्रधान अनलाइन पत्रिका केटिएम भ्वाइस डटकमद्वारा आयाेजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा गभर्नर अधिकारीले आफूले साईन गरेको नोट फ्रेममा रहोस् र कारोबार भने डिजिटल होस् भन्ने चहाना रहेको र धेरै हदसम्म पूरा पनि भएको बताएका हुन्।उनले डिजिटल कारोबारबाट पारदर्शिता बढ्ने,सुशासन आउने र कारोवारहरु रेकर्ड राख्नेलगायत धेरै काम सहज रुपमा हुने पनि बताए।

उनले भने,‘म नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरमध्ये एक हुँ तर मेरो चहाना त्यो साईन गरेको नोट फ्रेममा रहोस् र हाम्रो कारोबार भने डिजिटल होस् भन्ने हो र त्यो धेरै हदसम्म पूरा पनि हुन थालेको छ। यसले हामीलाई पारदर्शिता बढाउँछ, सुशासन ल्याउन सघाउँछ, कारोबारहरु रेकर्ड हुन्छ, सरकारको कर पनि नियमित रुपमा आउँछ आएन भने पनि ट्रेस गर्न सकिन्छ। धेरै फाइदाहरु हुन्छन्।’

उनले अघिल्लो वर्षबाट डिजिटल आर्थिक साक्षरताको अभियान पनि सुरु भएको भन्दै त्यसको फलस्वरुप प्राय नेपालीहरु अहिले मोबाइल बैंकिङ् प्रयोग गर्न सक्ने भएको जिकिर गरे। एक पटक लिएको बैंकिङ कारोबारको दररेट सात वर्षसम्म परिर्वतन नहुने व्यवस्था पनि रहेको तर त्यसलाई मानिसहरुले उपयोग गर्न नसकेको उनको भनाई छ।

‘हामीसँग धेरै प्रकारका उत्पादनहरु छन्, फिक्स रेट एकपटक लिएरको रेट सात वर्षसम्म परिवर्तन नहुने उत्पादनहरु पनि छन्। जसको फिक्स आम्दानी छ,त्यसको लागि फिक्स रेट हुन्छ। हामीले विगत तीन वर्षदेखि लागू भएको विषय हो। जस्तै फिक्स आम्दानी हुनेहरुको भोली व्याजदर बढ्दा तिर्न सक्दैँन भन्ने अनुमानको आधारमा त्यसको जिम्मेवारी बैंक आफैंले लिने गरि बनेको वस्तुहरु पनि छन् तर धेरै कम मान्छेहरुले मात्रै यो प्रयोग गर्नुभएको छ।’ उनले भने ‘यो सायद सञ्चार र साक्षरताको कमीले पनि यस्तो हुनसक्छ। एउटा सानो कर्जाको व्याजदरको सन्दर्भमा समेत पनि साक्षरताका क्षेत्र प्रशस्त छन् भने समग्र वित्तीय क्षेत्रमा वित्तीय साक्षरताको अनिवार्य आवश्यकता हामीले देखेका छौँ।’

Logo