लमजुङको दोर्दी गाउँपालिकाले रासायनिक मलको बिक्री मूल्य निर्धारण गरेको छ। सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल बिक्रीमा एकरुपता ल्याँउन र व्यवस्थित गर्न गाउँपालिकाले मूल्य निर्धारण गरेको हो।
अनुदान वितरण व्यवस्थापन निर्देशिका २०७७ बमोजिम दोर्दी गाउँपालिकामा गठित स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले उपभोक्ताहरुलाई बिक्री गर्ने मूल्य निर्धारण गरेको हो।
समितिको निर्णय अनुसार युरिया मलको बिक्री मूल्य ५० केजीको प्रतिबोरा १२ सय रुपैया र फुटकरप्रति किलोको २४ रुपैयाँ तोकिएको छ। यसैगरी डि.ए.पि.प्रति बोरा २ हजार ६ सय ४४ रुपैया ५० पैसा र प्रतिकिलो ५२ रूपैयाँ ८९ पैसा निर्धारण गरेको छ भने पोटास ५० केजिको प्रतिबोरा २ हजार ५०,फुटकर प्रतिकिलो ४० रुपैया ९९ पैसा मूल्य तोकिएको छ।
मल आपूर्ति गरिएको स्थानदेखिको ढुवानी तथा लोड अनलोड शूल्क जोडेर मलको बिक्री मूल्य निर्धारण गरिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख निराजन पौडेलले बताए। लमजुङमा यस अघि बेसीशहर, मध्यनेपाल, मर्साङदी लगायतका स्थानीय तहले मलको बिक्री मूल्य निर्धारण गरिसकेका छन्।
विगतमा सहकारीहरुले नै मलको बिक्री मूल्य निर्धारण गर्दै आएकोमा मूल्यमा एकरुपता नभएको र कतिपय सहकारीले अस्वाभाविक मूल्यमा रासायनिक मल बिक्री गरेको गुनासो आएकाले सम्बन्धित स्थानीय तहले अनुदानको रासायनिक मलको बिक्री मूल्य निर्धारण गर्ने व्यवस्था अनुसार स्थानीय तहहरुले मूल्य निर्धारण गरेका हुन्।





























प्रतिक्रिया